संसदीय छानबिन समितिको प्रतिवेदन मान्न सकिन्नः ‌‌ओली

संसदीय छानबिन समितिको प्रतिवेदन मान्न सकिन्नः ‌‌ओली

२०७९, श्रावण १५ आइतवार

  • 793
    SHARES

  • संसदीय छानबिन समितिको प्रतिवेदन मान्न सकिन्नः ‌‌ओली

    काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्न नसकिने बताएका छन्।

    समितिको सो प्रतिवेदन सत्य नभएको र तथ्यमा आधारित पनि नरहेकाले त्यसलाई मान्न नसकिने पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको भनाइ छ।

    राष्ट्रिय युवा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले सत्तारुढ गठबन्धनकै बहुमतले तयार पारेर ल्याइएको सो प्रतिवेदनलाई नेपाली जनताले पनि अस्वीकार गर्नुपर्ने तर्क गरे।

    अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सो प्रतिवेदन मान्य नहुने र जे सत्य हो, त्यसैमा अडिएर अघि बढ्ने आफ्नो पार्टीको अडान रहेको समेत स्पष्ट पारे।

    समितिमा ११ जनामध्ये ७ जना आफ्नो राख्ने र अनि हुन्छ र हुन्न भनेको आधारमा सो प्रतिवेदन आएको भन्दै उनले आक्रोशसमेत व्यक्त गरे।

    अध्यक्ष ओलीले भने, ‘इन्टरनेसनल छानबिन गरौँ। यो देश विरुद्धको अपराध हो। देशको अर्थतन्त्रमाथिको गम्भीर अपराध हो। केही औद्योगिक घराना पोस्नका लागि देशको उद्योग र अर्थतन्त्रलाई जानीजानी धराशयी पार्ने अपराध गरिएको छ। यो विषयलाई गम्भीरतासाथ लिइएन। गल्ती भयो भन्नेसम्म पनि छैन। अनि गल्ती नै भएको छैन ? प्रमाणित भएन रे ! ७ जनाले प्रमाणित हुनै दिएन, मानेन। अनि ७ जना आफू राखेर बहुमत र अल्पमतको फैसला। त्यो त पार्लियामेन्टमै हुन्छरहुन्न रु गरेको भए भइहाल्थ्यो नि! गठबन्धनसँग बहुमत छँदै छ। त्यहाँ पनि हुन्छरहुन्न भनेर निर्णय गर्ने भएपछि। सत्य होइन, हुन्छ र हुन्नको आधारमा ११ जनाको समिति बनाउने। सात जना आफ्ना राखेर अनि हुन्छरहुन्न भनेर ल्याउने रिपोर्ट ? यो कुनै रिपोर्ट होइन। तथ्यमा आधारित रिपोर्ट होइन। त्यसकारण त्यसलाई मान्न सक्ने कुरा हुँदैन। नेपाली जनताले त्यसलाई अस्वीकार गर्नुपर्छ। र, हामी फरक ढंगले यसलाई जे सत्य हो, त्यो सत्यमा अडिएर हामी अघि बढ्नेछौं।’

    अध्यक्ष ओलीले सत्तारुढ दलले देशलाई बर्बादीको दिशातिर धकेलेको उल्लेख गर्दै त्यसलाई जोगाउन पनि आगामी निर्वाचनमा एमालेले सानदार बहुमत ल्याएर सरकार बनाउनुपर्ने जिकिर समेत गरे। देशलाई बचाउन, जोगाउन र अघि बढाउन एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सानदार बहुमत ल्याएर सरकार बनाउनुपर्ने अवस्था आएको भन्दै उनले त्यसका लागि खट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

    अध्यक्ष ओलीले भने, ‘सत्तारुढ दलका नेताले स्वार्थका लागि काम गरेपछि देश बर्बाद हुन्छ नै ! यसबाट देशलाई जोगाउने उपाय भनेको हामीले आगामी निर्वाचनमा सानदार बहुमत ल्याएर सरकार बनाउनु नै हो। जसबाट मात्रै देश बन्न सक्छ। एमालेलाई सरकारमा जानुपरेको होइन। तर, एमालेलाई सरकारमा नपुगी नहुने, बहुमत नभई नहुने किन भयो भने–यो देशलाई बचाउनु छ, जोगाउनु छ। यसलाई अगाडि बढाउनु छ। त्यसकारण नेकपा (एमाले) सरकारमा पुग्नुपर्‍यो। बहुमत आउनुपर्‍यो। यसका निम्ति खट्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु।’

    ओलीले एमाले सरकारमा नपुगी मुलुक अघि बढ्न नसक्ने पटकपटक दोहोर्‍याए। उक्त अवसरमा उनले जथाभावी न्याय निरुपण नगर्न अदालतलाई पनि सचेत गराए। -देशसञ्चार

    २०७९, श्रावण १५ आइतवार०७:३८:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार