काठमाडौं । शहरको भित्रि भाग काठमाडौं महानगरपालिका वडा नं ५ मा अवस्थित टंगाल माविमा कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीको घुईँचो देखिएको छ ।
केही समय अगाडी सम्म दयनिय अवस्थाको देखिने टंगालले विगत पाँच वर्षमा लोभलाग्दो प्रगति गरेको छ । सिमित स्रोत साधनका बाबजुद हाल यस विद्यालयमा १ हजार भन्दा बढि विद्यार्थी अध्ययनरत छन् ।
यहाँ पढ्ने विद्यार्थीहरुका प्रगतिका गाथा तयार गर्ने हो भने यस आलेखले पुग्दैन । पुनः अर्को पटक मेहेनतका साथ कलम चलाउनै पर्ने हुन्छ ।
सोमवार विद्यालय भ्रमणमा आउने र खुशीका साथ फर्म लिन तँछाडमछाड गर्ने विद्यार्थी देख्दा जो कोहीलाई पनि उत्साहित बनाउँथ्यो ।
करिव एक दशक अगाडि सम्म कसरी सामुदायिक शिक्षा सुधार्ने ? निजी र सामुदायिक बिचको भेदभावलाई कसरी जवाफ दिने ? भन्दै गोष्ठी, छलफल र सेमिनारमा व्यस्त रहने विद्यालयका प्रधानाध्यापक राजेन्द्र अधिकारी टेबलमा शिक्षकका लेसन प्लान र विभिन्न अतिरिक्त क्रियाकलापका फायल चांग लगाएर आजकाल विद्यार्थीका प्रगतिका विषयमा घोत्लिँदै गरेका भेटिन्छन् ।

शिक्षा क्षेत्रमा राष्ट्रिय उचाई प्राप्त गरिसकेका अधिकारी नेपाल शिक्षक युनियन काठमाडौं अध्यक्ष हुँदै शिक्षक महासंघको सचिव समेतको जिम्मेवारी निर्वाह गरेका वरिष्ठ प्रधानाध्यापक हुन् ।
'शिक्षकका हकहितमा लड्दा लड्दै विद्यालय बिग्रेको पत्तै नपाइँदो रहेछ । शिक्षकका साथै विद्यार्थीको भविष्यमा चिन्तित हुँदै शिक्षा अगाडि बढाउँदा समग्रतामा राम्रो भएको अधिकारी सुनाउँछन् । '
दक्ष शिक्षक शिक्षिकाको लोभलाग्दो मेहनतबाटै टंगाल सबैको प्यारो बन्दै गएको हँसिलो मुहारका साथ प्रष्टबक्ताका रुपमा परिचित प्रअ अधिकारीको भनाई छ ।

कोरोना महामारीका समयमा पनि विद्यार्थीको खासै अभाव महशुस नगरेका अधिकारी विगत दुई वर्ष देखि प्रवेश परीक्षामा उत्तिर्णलाई मात्र भर्ना गर्न सकिएको बताएका छन् । प्रवेश परीक्षा दिन आएका विद्यार्थी सकभर फेल नभएका र विना प्रवेश परीक्षा भर्ना गरिदिन सोर्सफोर्स लगाउनेहरुलाई आफुहरुले सरी भन्दै पठाएको पनि उनको भनाई छ ।
उच्च गुणस्तरीय शैक्षिक वातावरण, योजनाबद्ध अतिरिक्त कक्षाका साथै शत प्रतिशत उत्तिरण नतिजाले पनि विद्यालय आकर्षणको केन्द्र बन्दै गएको प्रअ अधिकारीले बताएका छन् ।
सहरको मध्य भागमा रहेको यस उच्च माध्यमिक विद्यालयमा व्यवस्थापन, मानविकी र शिक्षा विषय पढ्न चाहनेका लागि नयाँ आकर्षक गन्तव्य हुनसक्ने देखिन्छ ।
