राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्ने संकेत

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्ने संकेत

२०७९, श्रावण २४ मंगलवार

  • 997
    SHARES

  • राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर हुने बताउनुभएको छ । संसद्बाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उहाँले यसो भन्नुभएको हो ।

    विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चित समयावधिको प्रतीक्षाबिना नै तत्काल राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक राष्ट्रघातीले प्रमाणीकरण गर्नुहुन्न भन्दै शीतल निवासमा दिनहुँजस्तो नागरिक समाजका तर्फबाट टोलीहरू पुगिरहेका छन् ।

    सोमबार राष्ट्रपति कार्यालय पुगेको नागरिक समाजको टोलीसँग कुरा गर्दै राष्ट्रपतिले भन्नुभयो– ‘राष्ट्रको हित सबैको प्राथमिकताको विषय हुनुपर्छ ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

    क्षेत्री समाजका केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर दिलबहादुर क्षेत्रीको नेतृत्वमा राष्ट्रपति कार्यालय पुगेको टोलीलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नागरिकता विधेक प्रमाणीकरणका लागि आफूकहाँ आइसकेको जानकारी पनि दिनुभयो । उहाँले भन्नुभयो– ‘नागरिकता विधेयक प्रमाणीकरणको लागि मकहाँ आएको छ । यसबारे धेरै बोल्दिनँ, मैले पाएको अधिकारभित्र रहेर काम गर्नेछु ।’ नागरिकता विधेयक फिर्ता गर्नेतर्फ संकेत गर्दै भण्डारीले इतिहासमा समेत सच्याउन नसकिने गरी काम गर्नुहुँदैन ।

    उहाँले मिचिएको भूमि फिर्ता गर्नतर्फ भन्दा पनि अथवा नक्सामा जारी भएको जमिन फिर्ता गर्नतर्फ भन्दा पनि नागरिकता विधेयकमा मात्रै अल्झनुले नेतृत्वको नैतिकतामा समेत प्रश्न उठ्न थालेको आशय प्रकट गर्नुुभयो । उहाँले भन्नुभयो– ‘इतिहासमा कसरी बाटो बिरिएको छ भनेर ख्याल गर्नुपर्छ र त्यस इतिहासलाई सच्याएर अघि बढ्नुपर्छ ।

    उहाँले इतिहासमा भुल गर्दै जाँदा कमजोर भएको प्रसंग जोड्दै अब भुल गर्न नहुने धारणासमेत राख्नुभयो । शीतलनिवास पुगेको टोलीसँग राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको विषयमा नागरिक समाजभन्दा बढी आफू चिन्तित भएको धारणा राख्नुभयो । विधेयकका बारेमा केही प्रतिक्रिया नदिने बताउनुभएकी भण्डारीले भने घुमाउरो शैलीमा विधेयक फिर्ता जान सक्ने संकेत गर्नुभयो । उहाँले भन्नुभयो– ‘यस विषयमा यहाँले जुन चिन्ता व्यक्त गर्नुभएको छ यसमा म गम्भीर छु ।’

    २०७९, श्रावण २४ मंगलवार०८:४९:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार