काठमाडौँ । थापाथलीस्थित नर्भिकको टहरा हटाउने निर्देशन कार्यान्वयन नगर्न सर्वोच्चको आदेशप्रति काठमाडौँ महानगरप्रमुख बालेन शाहले कटाक्ष गरेका छन्।
महानगरपालिकाले गत सोमबार २४ घण्टाभित्र सार्वजनिक जग्गामा बनेको संरचना हटाउन लिखित निर्देशन दिएको थियो।
महानगरको उक्त निर्देशन रोक्न माग गर्दै नर्भिक अस्पतालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै बुधबार तत्काल टहरा नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो।
‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ’, महानगर प्रमुख शाहले उक्त आदेशप्रति व्यंग्य प्रहार गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन्।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले उक्त संरचना हटाउनु पर्नाको कारण पेश गर्नसमेत आदेश दिएको छ।
महानगरले पटकपटक ताकेता गर्दा पनि नर्विकले संरचना हटाउन आलटाल गर्दै आएको थियो ।