काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बस्दै छ ।
कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाको संयोजकत्वमा सिट बाँडफाँटका लागि गठन गरिएको गठबन्धनको कार्यदलको दोस्रो बैठक बस्न लागेको हो ।
सीट बाँडफाँटको मोडालिटी तय गर्न सत्ता गठबन्धनले कार्यदल गठन गरेको थियो । उक्त कार्यदलको बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।
हाल गठबन्धनमा ५ दल छन् । सरकार बाहिर रहेको लोसपालाई मिलाएर ६ र डा बाबुराम भट्टराईद्धारा नवनिर्मित नेपाल समाजवादी पार्टी समेत समावेश भई ८ दलिय गठबन्धन बन्ने लक्षण देखिन थालेको छ ।
गतवर्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्धमा गठन भएको गठबन्धनले जनजिविकाका सवालमा काम गर्न नसकेको, विदेशी शक्तिसँग लम्पसार परेको, मिलिजुली भ्रष्टाचार गरेको जस्ता आरोप लाग्दै आएका छन् ।
गठबन्धन सरकारले जनताको आक्रोशलाई बेवास्ता गर्दै आगामी चुनावमा रणनीतिक बहुमत ल्याउने गरि यसअघि सिट संख्या बाँडफाँट मिलाउन ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलमा नेपाली कांग्रेसबाट तीनजना र अन्य दलबाट दुईरदुई जना सदस्य रहेका छन् । कार्यदलमा कांग्रेसबाट कृष्ण प्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्र बहादुर कार्की रहेका छन्। यस्तै, नेकपा माओवादीबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् ।
नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल कार्यदलका सदस्य रहेका छन् । जसपाबाट रामसहायप्रसाद राय र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।