बालकोटतिर साना दलको लर्को

बालकोटतिर साना दलको लर्को

२०७९, श्रावण ३१ मंगलवार

  • 969
    SHARES

  • बालकोटतिर साना दलको लर्को

    भक्तपुर । सत्तारुढ गठबन्धनमा नजोडिएका साना दलका नेताहरू आसन्न निर्वाचनमा गठबन्धनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट धाउन थालेका छन् ।

    अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली एक वर्षअघि सत्ताबाट बाहिरिएर बालुवाटारबाट बालकोट सरेलगत्तै यहाँ बाक्लै चहलपहल हुने गरेको थियो । माहोल बीचमा केही सेलाएर हालै सम्पन्न स्थानीय निर्वाचनताका पनि फेरि तातेको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

    त्यो माहोल निकट विगतमा फेरि केही पातलिएकोमा आगामी मंसिर ४ गतेको निर्वाचन घोषणापछि फेरि चहलपहल र भेटघाट बढ्न थालेको छ । हिजोआज ओली निवास बाहिरसमेत उनलाई भेट्न आउनेहरूको निजी र सरकारी गाडीको लाम लाग्ने गरेको देखिन्छ ।

    यसै क्रममा सोमबार अध्यक्ष ओलीसँग बालकोटमै आएर जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले भेटघाट गरेका छन् । अध्यक्ष ओलीसँगको भेटपछि त्रिपाठीले पत्रकारसँग छलफलका क्रममा विविध विषयमा कुरा भएको बताए । ‘भेट निर्वाचन केन्द्रित नै हो तर प्रारम्भिक चरणको कुरा भएको छ अरु कुरा हुँदै जाला’ – उनको भनाइ थियो ।

    त्रिपाठीले अघिल्लो निर्वाचनको मोडलमा नभई एमालेसँग चुनावमा गठबन्धन गरेर जाने विषयमा छलफल भएको बताए । 

    पहिला त्रिपाठी एमालेको सूर्य चिह्न लिएर निर्वाचनमा गएका थिए । उनले अहिले आफ्नो पार्टी भएकाले दुई पार्टीबीच के कसरी गठबन्धन गर्न सकिन्छ भन्ने बारेमा सामान्य कुराकानी भएको बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको सम्बन्धमा पनि दुई नेताबीच कुरा भएको छ । त्रिपाठी विधेयक पास गराउने पक्षमा छन् । 

    त्रिपाठी गत निर्वाचनमा सूर्य चिह्न लिएर नवलपरासीको क्षेत्र नं ३ बाट निर्वाचन जितेका थिए । यसअघि नेकपा एमाले अध्यक्ष ओलीसँग नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले भेट गरेका थिए । ओली निवास बालकोटमै भएको भेटमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल भएको थियो ।

    २०७९, श्रावण ३१ मंगलवार०८:०८:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार