काठमाडौँ । उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या देखिए पछि महानगर मेयर बालेन शाहले प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेका छन् ।
भेटका क्रममा मेयर शाहले सरकारलाई तत्काल सहयोग गर्न आग्रह गर्दै दुईवटा माग समेत प्रधानमन्त्री देउवा समक्ष राखेका छन् ।
मंगलवार साँझ प्रधानमन्त्री देउवाले शाहका मागलाई तत्कालै सम्बोधन गर्दे सरकारका दुईवटा निकायका प्रमूखलाई फोन गरेर कडा निर्देशन समेत दिएका छन् ।
प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनका क्रममा कसैले कुनै प्रकारको अवरोध नगरोस् भन्नेमा ढुक्क पार्न तत्काल प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई निर्देशन दिएका हुन् ।
भेटमा मेयर शाहको पहिलो चासो थियो- फोहोर व्यवस्थापनमा अवरोध पुर्याउने ठूला दलनिकट केही व्यक्तिहरुबिरुद्ध किटानी जाहेरी परिसकेकाले उनीहरुलाई तत्काल पक्राउ गरियोस् !
उनको दोस्रो चासो थियो- स्थानीयबासीहरुसँग भएको सम्झौताअनुरुप सडक निर्माणमा सरकारले तत्काल कदम चालोस्।
प्रधानमन्त्री देउवाले तत्काल प्रहरी महानिरीक्षक सिंहलाई फोन गरी मेयर शाहले भनेअनुसार किटानी जाहेरी परेका व्यक्तिहरुलाई पक्राउ गर्न निर्देशन दिएका थिए।
त्यस्तै प्रधानमन्त्री देउवाले तत्काल भौतिक पूर्वाधार सचिवलाई समेत त्यहाँबाट नै फोन गरेर सहमतिबमोजिम सडक निर्माण तत्काल थाल्न निर्देशन दिएका थिए।
प्रभावित स्थल बञ्चरेडाँडाँमा फोहोर खसाल्न गरिएका सहमति बमोजिम काम नभए पछि साढे दुई महिना देखि काठमाडौंको फोहोर फ्याँक्ने कार्य अस्तव्यस्त बन्दै गएको छ । स्थानियले निरन्तर रुपमा अवरोध पुर्याए पछि राजधानीमा घर जत्रै अग्ला फोहोरका थुप्रा देखिन थालेका छन् ।