‘संसद्मा प्रदीप गिरीले बोल्ने भनेपछि सांसद पर्खिएर बस्थे......’

‘संसद्मा प्रदीप गिरीले बोल्ने भनेपछि सांसद पर्खिएर बस्थे......’

२०७९, भाद्र ६ सोमवार

  • 709
    SHARES

  • ‘संसद्मा प्रदीप गिरीले बोल्ने भनेपछि सांसद पर्खिएर बस्थे......’

    काठमाडौँ । संसद्मा प्रदीप गिरीले बोल्ने भनेपछि सबै सांसद पर्खिएर बस्थे । माक्र्सवादको बारेमा समेत गहिरो अध्ययन गर्ने आदर्श नेता स्व गिरी सबैका प्रिय नेता हुनुहुन्थ्यो । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालय परिसर पुगेर स्व गिरिप्रति श्रद्धाञ्जली दिँदै श्रद्धाभाव व्यक्त गरे । 
          
    समकालीन राजनीतिका अध्ययनशील र आदर्शवादी नेता गिरी राजनीतिमा प्रेरणाका स्रोत भएको नेकपा (एमाले) संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले बताए । उनका अनुसार सांसद गिरी संसद्मा बोल्ने दिनमा सांसदको उपस्थिति पनि बढ्थ्यो ।

    सादगी जीवन, निष्ठा र आदर्शको प्रतीक राजनीतिज्ञ गिरीप्रति आदर्शभाव व्यक्त गर्ने अधिकांशको बोली र लय एउटै थियो । राजनीतिज्ञ र बौद्धिक जमात मात्र नभई आम सर्वसाधारणलाई रुवाएर महाप्रस्थान गर्नुभएका नेता गिरीको सैद्धान्तिक विचारका अनुयायीहरु समकालीन राजनीतिमा धेरै छन् ।

    मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गिरी वास्तवमा निष्ठाको राजनीति गर्ने, अध्ययनशील, प्रखर बौद्धिक क्षमता भएको व्यक्तिका रूपमा आफूले स्मरण गरेको बताए । उनले भने, “राजनीतिक चिन्तक र विश्लेषक, समाजवादीहरुलाई पनि समाजवाद पढाउनसक्ने क्षमतावान् व्यक्ति हुनुहुन्थ्यो ।”

    उनले नेपालको राजनीतिक दर्शनलाई सैद्धान्तिक र राजनीतिक पाटोबाट अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्ने गिरी जनतालाई हेरेर जनतासँग भिजेर उनीहरुको उत्थानका लागि राजनीति गर्नुपर्छ भन्ने व्यक्तित्वका रूपमा आफूले पाएको उल्लेख गरे । 

    पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी पनि स्व गिरीको अभाव संसद्मा खड्किएको बताउँछिन् । “संसद् चलिरहँदा सदन बाहिर, क्यान्टिनमा रहेका सांसद पनि उहाँ (स्व गिरी) को विचार सुन्न चाहनुहुन्थ्यो, त्यसकारण नेपालको राजनीतिक आन्दोलनमा उहाँको आवश्यकता खड्किरहनेछ र हामी सधैँ सम्झिरहनेछौँ ।” नेकपा (माओवादी केन्द्र) का सांसद सुवेदीले समाजवादी आन्दोलनका अगुवा गिरीको निधनले राज्यको परिवर्तनकारी आन्दोलनमा उहाँको अभाव सधै खड्किरहने उल्लेख गरिन् । 

    नेपाली काँग्रेस कर्णाली प्रदेशका सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायर कांग्रेसका संस्थापक नेता जननायक वीपी कोइरालाको दर्शनलाई कार्यान्वयन गर्ने नेता स्वर्गीय गिरी भएको बताउँछन् । “स्व गिरीले नेपाली राजनीतिमा दिनुभएको विचारलाई आगाडि बढाउन सके पार्टी र देश दुवैलाई फाइदा पुग्छ”, उनले भने । 

    लामो समय भारतको बनारसका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गरी स्वदेश फर्कनुभएका नेता गिरीको शनिबार राति ९ः३० बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो । निधनको खबर थाहा पाउनेबित्तिकै देशका राष्ट्र प्रमुख राष्ट्रपति, कार्यकारी प्रमुख प्रधानमन्त्री, सत्तारूढ दलका शीर्षस्थ नेता एवं प्रमुख प्रतिपक्षी दलका नेताले विभिन्न माध्यमबाट श्रद्धाञ्जली व्यक्त गरे । पार्टीका नेता कार्यकर्ता, शुभचिन्तकले अस्पताल, पार्टी कार्यालय र पशुपति आर्यघाट पुगेर स्व नेता गिरिप्रति श्रद्धाञ्जली अर्पण गरे । 

    काँग्रेस नेता डा शेखर कोइरालाले प्रजातान्त्रिक समाजवादको व्याख्याताका रूपमा स्व गिरीले पहिचान बनाएको भन्दै उहाँको निधनले काँग्रेस र सिङ्गो देशलाई नै अपूरणीय क्षति भएको उल्लेख गरे । 

    काँग्रेस प्रवक्ता डा प्रकाशशरण महत बहुआयामिक व्यक्तित्वका धनी स्वर्गीय गिरीमा अथाह ज्ञानको भण्डार रहेको बताए । “उहाँको विचारले काँग्रेसलाई ऊर्जा मिल्थ्यो”, प्रवक्ता महतले भने, “स्व गिरी पार्टीभित्र देखेको लागेको कुरा स्पष्टसँग राख्नसक्ने प्रखर वक्ता हुनुहुन्थ्यो । गिरीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको छ ।”

    नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रूपमा आफ्नो विशिष्ट छवि बनाउनुभएका प्रदीप गिरी राष्ट्रियरूपमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि चर्चित हुनुहुन्थ्यो । उहाँँको निधनको खबरले सबैलाई दुखित तुल्याएको छ । उहाँमा रहेको बौद्धिकता, स्पष्टता, सादगीपनको सर्वत्र चर्चा भएको छ । आफूलाई गिरीको विचारको चिन्तक बताउने नीलाम्बर तिमल्सिनाले सबैलाई एउटै व्यवहार गर्ने सादगी नेता गिरी देश र समाजकै आदर्श व्यक्तित्व भएको उल्लेख गरे । 

    गिरीलाई श्रद्धाञ्जली व्यक्त गर्न पुगेका साहित्यकार धीरेन्द्र प्रेमर्शीले मनमा निश्चलता वाणीमा प्रवाह भएको प्रखर व्यक्तिका रूपमा गिरीलाई आफूले बुझेको बताए ।  

    नेपाली काँग्रेसले दिवङ्गत नेता गिरीप्रति उच्च सम्मान प्रकट गर्दै यही भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । साथै पार्टीले शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक अरु सबै कार्यक्रम स्थगित गर्ने भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतवार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले समाजवादी चिन्तक, पूर्वकेन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

    यसैगरी कांग्रेसले भदौ ६ गते सोमबार केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिन ९भदौ १६ गते० सम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 
     
    स्वर्गारोहणको १३ औँ दिन (भदौ १६ गते) मा केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने बैठकले निर्णय गरेको छ । नेता गिरी समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञानपुञ्ज, समाजवादी चिन्तक, लेखक, निष्ठावान् त्यागी एवं बहुआयामिक व्यक्तित्व हुनुहुन्छ ।
         
    पिता मित्रलाल गिरी र माता पुण्यप्रभा गिरीको कोखबाट विसं २००४ असोज २४ गते गोबर्धन पूजाका दिन सिरहाको बस्तीपुरमा जन्मनुभएका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नाकोत्तर गर्नुभएको थियो । उहाँ समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरुसँग उच्च तहको मित्रवत् सम्बन्ध एवं नेपाल–भारत सम्बन्धमा गहिरो प्रभाव राख्ने एक सरल जीवनशैलीका गान्धीवादी नेता हुनुहुन्थ्यो ।
     
    उहाँ राजनीतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यावहारिक व्याख्याता, ग्रामीण किसान, मजदूर एवं विपन्न परिवारलाई विकासको केन्द्रविन्दुमा राख्नुहुन्थ्यो । कांग्रेसलाई थप समावेशी र सबल बनाउन उहाँ हरदम क्रियाशील रहनुभएको कांग्रेसले जनाएको छ ।
     
    नेता गिरी नेपालमा राजनीतिक दल प्रतिबन्धित भएको समय बनारसबाट काँग्रेस पार्टीमा आबद्ध भई पार्टी सङ्गठनका माध्यमबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै निरङ्कुश पञ्चायतका विरुद्ध निरन्तर सङ्घर्षरत रहनुभयो । सबै किसिमका निरङ्कुशताविरुद्ध प्रखर वैचारिक सङ्घर्षमा होमिनुभएका गिरी लोकतान्त्रिक आन्दोलनमा वैचारिक र साङ्गठनिक अग्रणी भूमिका निभाउने क्रममा पटकपटक जेल र निर्वासनमा रहनुभयो ।
     
    उहाँ काँग्रेस पार्टीमा मात्रै नभएर नेपाली र विदेशी राजनीतिक समकक्षीबीच लोकप्रिय हुनुहुन्थ्यो । दार्शनिक नेता प्रदीप गिरीको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, काँग्रेस, सिङ्गो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुगेको काँग्रेसको ठहर छ । शनिबार राति निधन हुनुभएका गिरीको शवलाई श्रद्धाञ्जलीका लागि ललितपुरको मेडिसिटी अस्पताल परिसर र पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।
     
    त्यहाँ प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवा, काँग्रेस पदाधिकारी एवं सदस्यहरु, पार्टीका कार्यकर्ताहरु, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल सरकारका मन्त्रीहरु, महान्यायाधिवक्ता, उच्च सरकारी अधिकारीलगायतको उपस्थिति थियो । 

    यस्तै नेता गिरीप्रति श्रद्धाञ्जली दिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेताहरु भीमबहादुर रावल, प्रदीप ज्ञवाली, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु राजेन्द्र महतो, अनिलकुमार झा, शरतसिंह भण्डारी, सांसदहरु, साहित्यकार, सञ्चारकर्मी सानेपा पुगेका थिए । 

    २०७९, भाद्र ६ सोमवार०७:५४:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार