डेढ वर्षपछि खुल्यो ट्रान्जिट

डेढ वर्षपछि खुल्यो ट्रान्जिट

२०७९, भाद्र ८ बुधवार

  • 2.1K
    SHARES

  • डेढ वर्षपछि खुल्यो ट्रान्जिट

    काठमाडौँ । कोरोना सङ्क्रमणका कारण झन्डै डेढ वर्षदेखि नेपालको बाटो हुँदै तेस्रो मुलुकमा जान कायम रहेको प्रतिबन्ध सरकारले हटाएको छ। विदेशी नागरिकलाई नेपाली बाटो हुँदै तेस्रो मुलुक जान लाग्दै आएको प्रतिबन्ध सोमबारको मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेको हो।

    यसअघि अध्यागमन विभागले २०७८ वैशाख १५ गते रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तेस्रो मुलुक जाने यात्रुमाथि प्रतिबन्ध लगाएको थियो। कोभिड महामारीका बेला नेपालमा थप सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले प्रतिबन्ध लगाइएको थियो। महामारी कम भएसँगै लागू गरिएका हवाई उडानसम्बन्धी सबै प्रतिबन्ध भने यसअघि नै हटिसकेका थिए।

    प्रतिबन्ध हटेसँगै अब भने नेपाली विमानस्थललाई ट्रान्जिटका रूपमा प्रयोग गरी विदेशी नागरिक तेस्रो मुलुक जान पाउनेछन्। यसअघि विशेष गरी भारत, भुटान र बङ्गलादेशका नागरिक नेपाललाई ट्रान्जिट गरेर युरोप, अमेरिका, जापान, अस्टे«लिया, साउदीलगायतका मुलुक जाने गरेका थिए। यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

    यसैबीच सरकारले विदेशी नागरिकलाई नेपालको बाटो प्रयोग गरेर यात्रा गर्न दिने भएपछि पर्यटन व्यवसायीसमेत हौसिएका छन्। प्रतिबन्ध हटेसँगै हवाई उडान र पर्यटकीय चहल–पहल बढ्ने विश्वास गरिएको छ भने यो निर्णयले पर्यटन क्षेत्रमा उत्साह थपिएको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर सरकारको पछिल्लो निर्णयले हवाई उडान सङ्ख्या बढ्नुका साथै अध्यागमन विभागले लिँदै आएको एक दिने ट्रान्जिट भिसा शुल्कबाट राजस्वसमेत बढ्ने विश्वास व्यक्त गरे । 

    ट्रान्जिटले पर्यटन उद्योग चलायमान हुनुका साथै एक पटक नेपाल टेकेका यात्रु पुनः नेपाल ट्रान्जिट भएर आउँदा केही समय बस्ने गरी आउने सम्भावनालाई पनि बढाएको उनले बताए । 

    “सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा नेपाल आउने पर्यटकको आगमनलाई दृष्टिगत गर्दै विमानस्थलमा ‘कन्वेयर बेल्ट’ थपेर तीनबाट पाँच, एक्सरे मेसिन थपेर दुईबाट चार, थप कर्मचारी परिचालनलगायतका तयारी गरिसकेका छौँ,” उनले भने, “आन्तरिकतर्फका उडानमा हुने चापलाई समेत दृष्टिगत गर्दै हवाई व्यवस्थापनको तयारी भइरहेको छ।”

    २०७९, भाद्र ८ बुधवार०७:३५:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार