काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने मापदण्ड जित लक्षित बनाएको छ । एकपटक जितिसकेका व्यक्ति फेरि पनि प्रत्यक्षतर्फको चुनाव लड्नसक्ने निर्णय एमाले बैठकले गरेको छ।
ललितपुरको च्यासलस्थित बसेको पार्टी केन्द्रीय कमिटी बैठकले प्रत्यक्ष निर्वाचित हुने क्षेत्रमा ‘कतिपटक उम्मेदवार भन्ने तर्क व्यवहारिक नहुने नीति लिएको छ। त्यस्ता क्षेत्रमा एमालेले जनाधारमात्र नभएर दाउपेच, आवश्यकता र लोकप्रियताको पक्षलाई पनि ख्याल गर्ने जनाएको छ।’ समानुपातिक वा अप्रत्यक्ष निर्वाचन हुने स्थानमा जस्तो त्यहाँ निश्चित मत र पहिचान भएका मतदातामात्र हुँदैनन्।
प्रत्यक्ष निर्वाचनमा प्रभावित हुने मतदाताको अर्थ रहन्छ। त्यसैले प्रत्यक्ष निर्वाचनमा सबै कुराको अतिरिक्त ‘जित्ने सम्भावना बढी र संसदीय भूमिका प्रभावकारी भएकालाई नै उम्मेदवार बनाइन्छ। यो निर्वाचनको रणनीतिसँग सम्बन्धित विषय पनि हो,’ निर्णयमा भनिएको छ।
समानुपातिकको हकमा भने एकपटक अवसर पाइसकेकालाई नदोहोर्याउने नीति एमालेको छ। समानुपातिक मत पार्टीको लोकप्रियतामा प्राप्त हुने भएकाले यसमा सिंगो पार्टी पंक्तिको योगदान हुने एमालेको बुझाइ छ। त्यसैले समानुपातिक मत ‘सामूहिक कमाइु भएकाले सबै मिलेर कमाउने र दामाशाहीमा वितरण गर्ने भन्ने पक्षलाई ध्यान दिनुपर्ने एमालेले जनाएको छ।
बैठकले प्रत्येक निर्वाचन क्षेत्रबाट अनिवार्य एक महिलासहित तीन जनाको नाम भदौ २० गतेभित्र सिफारिस गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ।