त्रिवि ३ सय दिनदेखि बन्धक

त्रिवि ३ सय दिनदेखि बन्धक

२०७९, भाद्र १३ सोमवार

  • 1.2K
    SHARES

  • त्रिवि ३ सय दिनदेखि बन्धक

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघले मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा लामो समयदेखि तालाबन्दी गर्दा विश्वविद्यालय बन्धक बन्न पुगेको छ ।

    काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा विश्वविद्यालयका कुलपति हुन् । उनीनिकटको विद्यार्थी भ्रातृ संगठन नेविसंघले भने महिनौं दिनसम्म त्रिविमा तालाबन्दी गरेर बन्धक बनाइरहेको छ तर उनी भने मौनता साँधेर बसिरहेका छन् । नेविसंघसहित विभिन्न संघसंगठनले लगाएको तालाबन्दी जोड्ने हो भने विश्वविद्यालयमा ३ सय दिन तालाबन्दी भइसकेको छ । तालाबन्दी कहिले खुल्ने भन्ने अझै ठेगान छैन । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

    मुख्य गरेर नेविसंघले भ्रष्टाचार, अनियमितताजस्ता मुद्दा उठाएर लामो समयदेखि त्रिविलाई बन्धक बनाएर प्रशासनिकलगायतका काममा अवरोध गर्दै आए पनि कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवा र सहकुलपतिसमेत रहेका शिक्षामन्त्री देवेन्द्र पौडेलले समस्या हल गर्न तत्परता देखाएको पाइएको छैन ।

    विश्वविद्यालयमा ३ सय दिनसम्म तालाबन्दी हुँदासमेत कुलपति तथा सहकुलपतिको ध्यान नपुग्नु र समस्या समाधानका लागि आवश्यक पहल नगरेको भन्दै प्रधानमन्त्री र शिक्षामन्त्रीको आलोचनासमेत हुन थालेको छ । नेविसंघले आफ्ना माग सम्बोधनका लागि फरक तरिकाले संघर्षका कार्यक्रम गरेर जाने विकल्प हुँदाहुँदै प्रशासनिकलगायतका काम ठप्प हुनेगरी तालाबन्दी गर्दै आइरहेको हो ।

    नेविसंघको तालाबन्दीको विषयलाई लिएर आइतबार विश्वविद्यालय परिसरमा झडपका हुँदा त्रिवि परिसर रणमैदानजस्तै बन्न पुग्यो । नेकपा एमालेनिकट अनेरास्ववियुले नेविसंघले लगाएको तालाबन्दी तोडेको थियो । त्यसक्रममा दुई विद्यार्थी संगठनबीच झडप भएको होे । झडपका क्रममा दुवै पक्षका केही विद्यार्थी नेता कार्यकर्ता घाइतेसमेत भएका छन् । ताला खोल्ने विषयमा यसअघि पनि नेविसंघ र अन्य संघ संगठनबीच झडप हुँदै आएको छ । अनेरास्ववियुले तोडेको ताला नेविसंघले पुनः लगाएको छ ।

    नेविसंघले उपकुलपति, रजिस्ट्रार र त्रिवि लेखा शाखामा तालाबन्दी गरेपछि शुक्रबार त्रिवि कार्यकारी परिषद्को बैठक जमलस्थित एल्लो प्यागोडा होटलमा बसेको थियो । सोही बैठकमा नेविसंघको एक समूहले कार्यकारी परिषद्का विगतका निर्णयसहितको पुस्तिका र अन्य महत्वपूर्ण कागजपत्र र फाइल कब्जासमेत गरेको थियो । सो समूहले कब्जा गरेको कागजात शिक्षामन्त्रीलाई बुझाएको जनाएको छ ।

    २०७९, भाद्र १३ सोमवार०७:३८:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार