असोज १ देखि सुपथ मूल्य पसल सञ्चालन हुने

असोज १ देखि सुपथ मूल्य पसल सञ्चालन हुने

२०७९, भाद्र १८ शनिवार

  • 1.3K
    SHARES

  • असोज १ देखि सुपथ मूल्य पसल सञ्चालन हुने

    काठमाडौँ । चाडपर्वलाई लक्षित गरेर सुपथ पसल आगामी असोज १ गतेदेखि सञ्चालन हुने भएको छ ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी) ले संयुक्त रूपमा चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि असोज १ गतेदेखि  कात्तिक १५ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । 

    उपत्यकासँगै बाहिरी जिल्लामा पनि सुपथ मूल्य पसल सञ्चालन गरिने बताइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा। नारायणप्रसाद रेग्मीले चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गरिएको जानकारी दिए । 

    सुपथ मूल्य पसलमा उपभोक्ताले छुट पाउने उनले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

    चाडपर्वमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । मन्त्रालयका अनुसार चामल, दाल, आटा, पिठो, मैदा, तेल, चिउरामा प्रतिकेजी सात रुपियाँ छुट दिइएको छ । 

    यस्तै चिनी प्रतिकेजीमा पाँच रुपियाँ र नुन प्रतिकेजीमा दुई रुपियाँ छुट दिएको छ । जुम्लाको सिमी, गेडागुडीमा प्रतिकेजी १० रुपियाँ छुट दिइएको छ । खसीबोका र च्याङ्ग्रामा प्रतिकेजी १० रुपियाँ छुट दिइएको छ । 

    यस्तै डीडीसीबाट वितरण हुने घिउ प्रतिकेजीमा ५० रुपियाँ, पनिररचिज प्रतिकेजीमा २० रुपियाँ र दही प्रतिकेजीमा १० रुपियाँ छुट दिइएको छ । 

    खाद्य कम्पनीले मुलुकभर ४१ वटा आफ्ना बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्यान्न वितरण गर्नेछ । यस्तै कम्पनीले उपत्यकामा सात स्थानबाट सामान वितरण गर्नेछ । 

    साल्ट ट्रेडिङ कर्पोरेसनले मुलुकभर रहेका २४ बिक्री केन्द्र र उपत्यकामा सात स्थानबाट सामान वितरण गर्नेछ । डीडीसीले उपत्यकाका न्युरोड, लैनचौर, खुमलटार र उपत्यकाबाहिर सात ठाउँबाट सुपथ मूल्यमा बिक्री गर्ने जनाइएको छ । उपत्यकामा घुम्ती सेवामार्फत सुपथ मूल्यमा सामान बिक्री गरिने जनाइएको छ ।

    चाडपर्वमा उपभोक्तलाई सहुलियत दिन खाद्य कम्पनीलाई दुई करोड ३२ लाख र साल्ट्र टे«डिङ कर्पोरेसनलाई एक करोड रुपियाँ छुट्याएको मन्त्रालयले जनाएको छ । उपभोक्तालाई छुट दिएबापतको रकम जति हुन्छ, त्यति सरकारले शोधभर्नाबापत उपलब्ध गराउने गर्छ । 

    दुई वर्षअघिदेखि सरकारले उपभोक्तालाई राहत दिन बजेटमै रकम व्यवस्था गर्दै आएको छ ।

    २०७९, भाद्र १८ शनिवार०७:५७:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार