काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशैभरका आँखा काठमाडौं १ मा परेका छन् ।
२०४६ सालको जनआन्दोलनका एक नायक समेत रहेका तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेकपा एमालेका युवा महासचिव स्व मदन भण्डारीले हराए पश्चात यस क्षेत्रको चर्चा सँधै नै अत्यधिक हुने गरेको छ ।
यता विगत १५ वर्ष देखि एकछत्र राज गर्दै आएका पुर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह पुनः प्रतिनिधिसभा निर्वाचनका लागि टिकट पाउनेमा निश्चित जस्तै देखिन्छ । त्यस्तै प्रदेशसभा निर्वाचन मार्फत आफ्नो उत्तराधिकारी खोज्नपर्ने चुनौति समेत सिंहलाई थपिएको छ ।
गत हप्ता मात्र नेपाली कांग्रेस क्षेत्रिय समितिको बैठकले युवानेता सुरज भट्टराईलाई उमेदवारीका लागि प्रस्तावित गरे लगत्तै सामाजिक संजालदेखि लिएर क्षेत्रका टोलटोलमा भट्टराईको चर्चा बढेको छ ।
त्यसो त झण्डैँ आधा दर्जन आकांक्षीहरुले आफ्ना नाम प्रस्ताव गरे पनि विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिंह, किशुनजी र गिरिजा प्रसाद कोइरालालाई आफ्ना आदर्शपुरुष ठान्ने सुरज भट्टराईको पल्ला भारिरहेको कार्यकर्ताको भनाई छ ।
पार्टीमा सँधै संस्थापनको सहयोगी बनेर काम गर्दा मात्र कांग्रेस बलियो हुने धारणा राख्ने भट्टराई सबै पक्षसँग उत्तिकै समदुरीमा रहने योग्यतम उमेदवार रहेका नाम उल्लेख नगर्ने सर्तमा एक क्षेत्रिय समिति सदस्यले बताए ।
पुर्व सभामुख दमननाथ ढुंगानाको स्वकिय सचिव समेत रहेर राजकिय अनुभव सँगालेका भट्टराईले क्षेत्रका एक दर्जन भन्दा बढि सामाजिक संघ संस्थाको नेतृत्व गरिसकेका छन् ।
कोरोना महामारीका बीच जनताको सेवा गर्ने क्रममा आफैँ संक्रमित भएर झण्डैँ मृत्युको मुखमा पुगेको तितो घटना स्मरण गराउने भट्टराईले विरामीलाई रगत अभाव नहोस् भनेर ५३ औँ पटक रक्तदान समेत गरिसकेका छन् ।
राजनीतिक रुपमा नेपाली कांग्रेस काठमाडौं १ को पुर्व सचिव रहि एक कार्यकाल पुरा गरिसकेका भट्टराई हाल वागमती प्रदेशका प्रतिनिधि हुन् ।