नयाँ दिल्ली । पाकिस्तानले टी-२० क्रिकेटमा कुनैपनि विकेट नगुमाई सर्वाधिक रनको स्कोर चेज गर्ने कीर्तिमान बनाएको छ।
बिहिबार राति कराचिमा भएको खेलमा पाकिस्तानले इंग्ल्यान्डले दिएको २०० रनको लक्ष्य ३ बल बाँकी हुँदानै विकेट नगुमाई पुरा गर्दै १० विकेटको कीर्तिमानि जित निकाल्यो। यसअघि गतवर्ष विश्वकपका दौरान पनि पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो।
कीर्तिमानि साझेदारी गर्ने क्रममा पाकिस्तानका लागि कप्तान बाबर अजाम र मोहमद रिजवानले पहिलो विकेटका लागि अविजित २०३ रनको साझेदारी गरे। बाबर ६६ बलमा ११ चौका र ५ छक्का प्रहार गर्दै १ सय १० रनमा अविजित रहँदा रिजवान ५१ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ८८ रनमा अविजित रहे । बाबरको यो टी-२० अन्तराष्ट्रियमा दोस्रो शतक हो। यसअघि उनले दक्षिण अफ्रिका विरुद्व १ सय २२ रन बनाउँदै करीअरको पहिलो शतक प्रहार गरेका थिए। उनका नाममा २६ अर्धशतक रहेको छ। त्यस्तै रिजवानले करिअरको १८ औँ अर्धशतक प्रहार गरे।
यी दुईले कुनैपनि टी-२० अन्तराष्ट्रियमा गरेको यो सर्वाधिक ठुलो अविजित साझेदारी हो। यसअघि यो कीर्तिमान यिनै दुई खेलाडीको नाममा रहेको थियो। २०२१ मा दक्षिण अफ्रिकाविरुद्व १ सय ९७ रनको साझेदारी गरेका थिए।
लक्ष्य चेज गर्ने क्रममा शीर्ष पाँच साझेदारीमा चार साझेदारी यी दुई स्टारको नाममा छ। २०२१ मा मात्रै उनीहरूले ३ वटा उत्कृष्ट साझेदारी गरेका थिए। वेस्ट इन्डिजविरुद्व १ सय ५८ रन तथा भारतविरुद्व १ सय ५२ रनको अविजित साझेदारी गत वर्ष गरेका थिए। सर्वाधिक उच्च साझेदारीको तेस्रो नम्बरमा भने मार्टिन गुप्टिल र केन विलियमसनको रहेको छ। पाकिस्तानविरुद्व २०१६ मा यो जोडीले १ सय ७१ रनको अविजित साझेदारी गरेको थियो।
कराचिमा पाहुना टोलि इंग्ल्यान्डले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो। इंग्ल्यान्डका लागि कप्तान मोइन अलीले २३ बलमा ५५ रनको अर्धशतकीय इनिङ खेल्दा बेन डुकेटले ४३ तथा फिल साल्टले ३० र एलेक्स हेलले २६ रन बनाएका थिए।
त्यस्तै, हेरी ब्रुकले ३१ रन जोडेका थिए। यी दुई बिचको तेस्रो टी-२० शुक्रबार हुनेछ।