काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५ उम्मेदवारविरुद्ध उजुरी परेको हो ।
समानुपातिक उम्मेदवारहरूमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारदेखि काँग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीकी श्रीमतीसम्मका विरुद्ध उजुरी परेको छ ।
त्यस्तै, सरकारी लाभको पदमा बसेर बन्दसूचीमा नाम राखिएकाहरूको उम्मेदवारी खारेज गर्न माग गरिएको छ । केही उजुरीमा क्लस्टरमा नपर्ने व्यक्तिहरूलाई राखिएकाले उनीहरूको नाम खारेज हुनुपर्ने दाबी गरिएको छ । उजुरीमा आदिवासी जनजाति, मधेशीलगायतका सूचीमा राखिएका व्यक्तिहरू उक्त समूहको नभएको दाबी गरिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा जीवन शर्माले लेखेका छन् ।
प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस, जनता समाजवादी दल, नागरिक उत्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी दल, नेपाली जनता दल, नेसनलिस्ट पिपुल्स पार्टी, बहुजन पार्टी, जनमत पार्टीलगायतका दलहरूबाट सिफारिस भएका उम्मेदवारहरूविरुद्ध उजुरी परेको आयोगले जनाएको छ । प्रतिनिधिसभामा सबैभन्दा बढी काँग्रेसले सिफरिस गरेका उम्मेदवारका विरुद्धमा उजुरी परेका छन् । प्रतिनिधिसभातर्फ १३ जनाविरुद्धमा परेका उजुरीमध्ये ६ जना काँग्रेसका छन् ।
कतिपय उम्मेदवारले आफैंले पनि आफू जुन विषयअन्तर्गतको बन्दसूचीमा हुनुपथ्र्यो, त्यसमा नभएर अर्कै सूचीमा समावेश भएको भन्दै सोअनुसार कायम गरिदिन आयोगमा निवेदन दर्ता गराएका छन् ।