बन्दीपुरमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

बन्दीपुरमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

२०७९, कार्तिक ४ शुक्रवार

  • 757
    SHARES

  • बन्दीपुरमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

    दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा ११ वर्षीय विना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।  

    घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो । बिहान ६ः३० बजेको समयमो चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए । चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो ।

    “घरदेखि सानिआमाको घरको दूरी दुई सय मिटर छ, बाटोमा सालघारी पर्छ, सानिआमाको घर आउनुभन्दा ५० मिटर वर चितुवाले आक्रमण गरेछ,” उनले भने । बालिकाको सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत छिन् । 

    पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ । गत असारमा बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । 

    चितुवाको आक्रमणबाट बन्दीपुर–१ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिका–४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बाघदलेका ३५ वर्षीया भिमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते भएका थिए ।

    पछिल्लो केही वर्ष यता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्ष भन्दा कम उमेरका बालबालिका छन् ।

    २०७९, कार्तिक ४ शुक्रवार०८:५०:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार