अस्ती सम्म
बोल्न खोज्यो
बोल्नै गाह्रो मान्नेहरु
भेट्न खोज्यो
समय छैन भन्नेहरु
नमस्कार गर्दा
नदेखे झै गर्नेहरु
हात मिलाउन खोज्यो
गोजीमा हात हाल्नेहरु
यती काम गरिदिनुस्
भन्दा टाउको बटार्नेहरु !
हिजो आज !
नचिने पनि-चिने झै गर्छन्
धुस्रै मैलो हात भए पनि
हातमा हात मिलाउँछन्
सँधै देखे भेटे बोलेको झैँ
बोल्दै बोलेको छैन
तैपनि
चिने झैँ गरि टाउको हल्लाऊँछन्
असिन पसिन हुंदै
ङिच्च दाँत देखाएर
कृतिम हाँसो संगै
अंगालो मार्छन्
गला मिलाउँछन् ।
अनि
संगैको आसेपासेले
उहाँ त फलानो हो नि
उहाँको नाम यो हो नि
उहाँको यो गाऊँमा टोलमा
निकै राम्रो प्रभाव छ नि
भन्न नभ्याउँदै
आत्मियता साथ अंगालो मार्दै
घरमै एक पटक भेटन आउनु है
अनुरोधको वाक्य फुर्छ
पाँच वर्ष झुक्याउने
समयको खेल हो
यत्ती भए
निर्वाचन आयो बुझे भो ।