काठमाडौँ । काठमाडौँमा विभिन्न क्षेत्रमा सत्ता गठबन्धनभित्र खटपट देखापरेको छ।
केन्द्रको निर्णयविपरीत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिँदा काठमाडौँका प्रतिनिधिसभा तथा प्रदेशसभामा गठबन्धनका दलबीच मतभेद पैदा भएको हो।
प्रतिनिधिसभातर्फ काठमाडौँका १० सिटमध्ये कांग्रेसले ६, माओवादीले ३ र एकीकृत समाजवादीले एक सिटमा उम्मेदवारी दिने सहमति भएको थियो। तर, सहमतिविपरीत माओवादीले आफ्नो भागमा परेको काठमाडौँका क्षेत्रहरू २, ७ र ९ बाहेक पनि ३ र १० मा उम्मेदवारी दिएको छ।
काठमाडौँ १० कांग्रेसको भागमा परेर राजन केसीले टिकट पाए पनि त्यहाँ माओवादीबाट अञ्जना विशुंखले प्रतिनिधिसभामा उम्मेदवारी दिएकी छन्। सहमतिविपरीत दिएको उम्मेदवारी फिर्ता लिन कांग्रेसले दवाव दिए पनि अन्तिममा मित्रवत प्रतिस्पर्धाका लागि तयार भएको छ।
तर, प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा समेत उम्मेदवारी दिएर माओवादीले केन्द्रको निर्णयलाई चुनौती दिएको छ।
क्षेत्र नम्बर १० को प्रदेशतर्फको १ मा माओवादीले दिलिप महर्जनलाई उठाएको छ भने एकीकृत समाजवादीको भागमा परेको २ मा गणेशबहादुर कुँवरलाई उम्मेदवार बनाएको छ। कांग्रेस माओवादीको विवादका कारण प्रदेशसभाको २ मा उम्मेदवारी दिएकी समाजवादीकी रमा आले मगर साझा उम्मेदवार बन्नबाट बञ्चित भएकी छन्।
केन्द्रले १० (क) कांग्रेस र माओवादीका उम्मेदवारबीच मित्रवत प्रतिस्पर्धा गर्न शुक्रबार अनुमति दिए पनि १० (ख) मा समेत आफ्नो उम्मेदवारी कामय रहेन निर्णय माओवादीले गरेको छ।
शनिबार काठमाडौँ १० का इञ्चार्ज उर्गेन लामा र प्रदेश २ का इञ्चार्ज पुरुषोत्तम सुनुवारले विज्ञप्ति जारी गर्दै केन्द्रको निर्णयप्रति असहमति रहेकाले तीनवटै क्षेत्रमा आफ्नो उम्मेदवार कायम रहने जनाएका छन्।
उनीहरूले भनेका छन्, ‘मिति २०७९ साल कात्तिक ११ गते चार दलीय गठबन्धनको विज्ञप्ति प्रकाशित भएकोमा काठमाडौँ जिल्ला क्षेत्र नं. १० माओवादी केन्द्रको ध्यानाकर्षण भएको छ। काठमाडौँ जिल्ला क्षेत्र न १० मा उम्मेदवारी दर्ता गर्ने समयदेखि नै गठबन्धन नभएकाले उक्त विज्ञप्तिप्रति असहमति रहेको हुँदा नेकपा माओवादी केन्द्रको क्षेत्रीय बैठक बसी तपशीलको निर्णय गरिएको व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ।’
त्यस्तै, काठमाडौँ ६ का प्रदेशसभातर्फका दुवै सिटमा पनि कांग्रेस माओवादीबीच विवाद भएको छ। केन्द्रको निर्णयअनुसार ६ (क) कांग्रेस र ६ (ख) माओवादी केन्द्रको मागमा परे पनि दुवै क्षेत्रमा दुवै पार्टीले सहमतिविपरीत आ-आफ्ना उम्मेदवार खडा गरेका छन्।
माओवादी केन्द्रले कांग्रेसले ६ (क) मा मात्रै उम्मेदवारी दिनुपर्ने भए पनि (ख) समेत उम्मेदवारी दिएर सहमति उल्लंघन गरेको आरोप लगाएको छ।
माओवादीका नेता हिमाल शर्माले आफूहरू गठबन्धनप्रति इमानदार बने पनि कांग्रेस बन्न नसकेको बताउँदै प्रदेशका दुवै सिटमा आफ्नै उम्मेदवारलाई चुनावी मैदान जानुको विकल्प नभएको उल्लेख गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत् प्रश्न गरेका छन्, ‘आफूले संघीय क्षेत्रमा उमेदवारी दिन पाइएन, गठबन्धनमा इमान्दारी हुनु पर्ने भन्दै पार्टीले टिकट दिएन। तर कांग्रेसका साथीहरूले प्रदेशमा पनि उमेदवारी कायम गरेपछि खै त इमान्दारीरु’
माओवादीले ६ (क) मा रवीन्द्र श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले हरिप्रभा खड्कीलाई चुनावी मैदानमा उतारेको छ। त्यस्तै, ६ (ख) मा कांग्रेसले विष्णुभक्त तिमिल्सिना, माओवादीले प्रकाश फुयाललाई उम्मेदवार बनाएको छ।
कांग्रेस माओवादीबीच काठमाडौँ ३ का तीनवटै क्षेत्रमा पनि विवाद भएको छ। सुरुमा गठबन्धनमा भएको सहमतिअनुसार संघमा कांग्रेस, प्रदेश (१) मा कांग्रेस र प्रदेश (२) मा माओवादी केन्द्रको उमेदवारी दिने सहमति थियो।
तर, त्यसलाई उल्लंघन गरेर कांग्रेसले प्रदेशतर्फको २ मा पनि उम्मेदवारी दिएको भन्दै माओवादीले संघ र प्रदेशको अर्को क्षेत्रमा पनि आफ्नो उम्मेदवार खडा गरेको छ।
शनिबार गठबन्धनले प्रदेशतर्फको १ मा कांग्रेसका छिरिङ दोर्जे लामाको उम्मेदवारीलाई आधिकारिकता दिँदै २ मा कांग्रेसका विमल ठकुरी र माओवादीका महेश्वर फुयालबीच मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय दियो।
तर। त्यसलाई माओवादीले ३ (ख) आफूलाई नदिएको अवस्थामा तीनै क्षेत्रमा उम्मेदवारी कायम रहने जनाएको छ। काठमाडौँ ३ मा कांग्रेसबाट सन्तोष चालिसे र माओवादीबाट बद्रप्रसाद बजगाईंको उम्मेदवारी परेको छ। त्यस्तै प्रदेशतर्फको १ मा माओवादीले कपिलमुनी उप्रेतीको उम्मेदवारी दर्ता गरेको छ।
काठमाडौँ ३ का माओवादीका इञ्जार्जसमेत रहेका महेश्वरले कांग्रेसले सुरुमा भएको सहमति कार्यान्वन नगरे तीनै क्षेत्रमा आफ्ना उम्मेदवार सक्रिय रहने जनाएका छन्।
शनिबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘यदि नेपाली कांग्रेसले सहमतिवेगर दर्ता गरेको प्रदेश क्षेत्र (ख) को उमेदवारी फिर्ता लिन्छ भने माओवादी केन्द्र पनि संघ र प्रदेश (क) को उमेदवारी फिर्ता लिन तयार छ। यदि नेपाली कांग्रेसले मित्रवत प्रतिस्पर्धाका नाममा माओवादी केन्द्रको भागमा परेको प्रदेश (ख) बाट आफ्नो उमेदवारलाई पूर्ण रूपमा निष्क्रिय गर्दैन भने माओवादी केन्द्रको तर्फबाट दर्ता गरेको संघ, प्रदेश (क) र (ख) को सबै तीन वटै सिटको उमेदवारी कायम रहने र माओवादी केन्द्र तीन जना नै उमेदवारको पक्षमा भोट मागी आम मतदाताहरूको बीचमा सशक्त रूपमा जाने कुराको यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछु।’
काठमाडौँ-३ मा गठबन्धनको आधिकारिक उम्मेदवार चालिसेविरुद्ध उम्मेदवारी दिएको भन्दै काठमाडौँ-२ का कांग्रेससमेत असन्तुष्ट बनेका छन्। ३ को उम्मेदवारी फिर्ता नगरे माओवादीबाट काठमाडौँ २ मा उम्मेदवारी दिएकी ओनसरी घर्तीलाई असर पर्ने चेतावनी कांग्रेस कार्यकर्ताको छ। -देशसञ्चार