पौष २८, काठमाडौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन कला, संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९ पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसका अवसरमा विविध राष्ट्रभाषाहरुको गीति कार्यक्रम ‘हाम्रो निधि हाम्रोः संस्कृति’ विषयक कार्यक्रममा मन्त्री ढकालले हाम्रो कला संस्कृतिलाई संरक्षण गरी नयाँ पुस्तामाझ पु-याउन कार्यक्रम सहयोग सिद्ध हुने बताए ।
विविधताभित्रको सहिष्णुपूर्ण एकता नै आजको आवश्यकता हो भन्दै मन्त्री ढकालले संस्कृतिको संरक्षणमा पुर्खाको योगदानको सम्मानमा गरिने यस किसिमका कार्यक्रमले देशको कला संस्कृतिको संरक्षणसँग स्रष्टाप्रतिको सम्मान उचो हुने विश्वास व्यक्त गरे ।
पर्यटनमन्त्री ढकालले नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायणले हरेक जातजाति र समुदायलाई एउटै मालामा उनेर शासन गर्ने अभिभावकका रुपमा खेलेको भूमिकाको सराहना गरे ।
उनले पृथ्वीनारायण शाहमाथि भएको श्रद्धा र समपर्णलाई कसैले फेरि राज्यलाई पुरानो युगमा फर्काउने सपना देखियो भने उहाँप्रतिको सम्मान घटाउने धारणा पनि राखेका छन् ।
मन्त्री ढकालले भने, “आज जति मानिस पृथ्वीनारायणको सालिकमा माल्यार्पण र सम्मानका लागि आउनुभएको छ, त्यो कुनै कूल वंश र हिजो राजा भएको आधारमा नभई सही अर्थमा नेपालको एकीकरण गरेका, जनभावनाअनुरुप सुखदुःखमा साथ दिएकाले पृथ्वीनारायणप्रतिको सम्मान बढेको हो र अझै युगौँयुगसम्म कायम रहनेछ ।”
एकीकरण अभियानमा साथ दिएका आफ्ना भाइभारदारको पक्षमा भन्दा पनि अखण्डित राष्ट्रको पक्षमा अडिक रहेकाले पनि पृथ्वीनारायणको सम्मान र गरिमा बढेको उनले उल्लेख गरे ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सांस्कृतिक संस्थानको सहयोगमा आयोजित उक्त कार्यक्रममा ख्यातिप्राप्त कलाकारले राष्ट्रिय गीत, नेवार, राई, लिम्बू, तामाङ आदि भाषाभाषीका गीतसङ्गीत प्रस्तुत गरेका थिए ।