कपन । राजधानी काठमाडौं उपत्यकाको मध्यउत्तरमा अवस्थित बुढालिकण्ठ नगरपालिका १३ चुनिखेलमा योमरी महोत्सव शुरु भएको छ ।
योमरी पुन्हिका अवसरमा यहि मंसिर १८ गते आइतवार देखि मंसिर २२ गते विहिवार सम्म महोत्सव संचालन हुने उक्त महोत्सव आयोजक समितिका पदाधिकारी कृष्णा देवी श्रेष्ठले बताइन् । स्थानिय प्रगति महिला समूहको व्यवस्थापनका साथै १३ नं वडा कार्यालयसँगको सहकार्यमा महोत्सव संचालन भईरहेको हो ।

योमरी महोत्सव शुरु भएसँगै यसका पारखीहरु टाढाटाढाबाट चुनिखेलमा आई पुगेका वडाअध्यक्ष टिकेश नारायण श्रेष्ठले बताए । हेर्दै शंख जस्तो आकारको योमरी बाटो हिँड्ने जो कोहि पनि नखाई, नचाखिकन बाटो नकाटेको देख्दा आयोजक दंगपरेका देखिन्थे ।
यस्तैमा महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्ने इच्छा बोकेर मिनि भक्तपुरको रुपमा परिचित चुनिखेललाई धन्यवाद भन्न आफु आईपुगेकी नगरपालिकाकी उपप्रमुख अनिता लामाले प्रफुल्लित मुहारका साथ बताइन् । लामा आफु पनि केहि समय योमरी तयार गर्न सरिक भइन् ।

पुर्व उत्तरमा हरियो रमाइलो पहाड दायाँ र बायाँ चन्द्रमति र रुद्रमतिले घरिएको सानो टापु जस्तो देखिने यस ठाउँमा आईपुग्दा आफु सँधै रोमाञ्चित हुने गरेको लामाको भनाई थियो । यस्तै रचनात्मक काम गरेर यो सानो नेवारी बस्तीका साथ सारा वडालाई विविधताका कार्यक्रमले सिंगार्दै अझ उचाइमा पुर्याउन वडाध्यक्ष श्रेष्ठलाई लामाले शुभकामना दिइन् ।
परापुर्वकालमा एक किसानले खेतमा काम सकेर घरमा आई खाजा खान खोज्दा केहि पनि नपाए पछि उनले चामलको पिठोमा गुलियो चाकु राखेर केहि क्षण पानीको बाफमा पकाए पछि स्वादिष्ट परिकारको रुपमा (यो - मनपरेको या स्वादिष्ट, मरी - पिठो) योमरीको शुरुवात भएको विज्ञहरुको भनाई छ ।

महोत्सवमा खाजा सेटका साथमा चाकु, खुवा लगायतका सामाग्रीबाट तयार गरेको योमरी किन्ने भिड देख्दा जोकोहि पनि उत्साहित देखिन्थे ।
के जाने हैनत जिब्रै रसाउने योमरी चाख्न चुनिखेल ?




