काठमाडौं। समानुपातिक सांसद चयनमा चलखेल भएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा खबरदारी गरेका छन् ।
प्राइमरी इलेक्सनबाट आएकाहरूलाई प्राथमिकतामा नराखी अरुलाई नै समानुपातिक सांसदमा पठाउन खोजिएको उनीहरूको भनाई छ । रास्वपाले प्राइमरी इलेक्सनमा पाएको मतको आधारमा समानुपातिकको बन्दसूची तय गरेको थियो ।
तर, प्राइमरी इलेक्सनमा थोरै मत ल्याएकाहरूलाई समानुपातिक सांसद बनाउन खोजेको भन्दै वसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा खबरदबारी कार्यक्रम गरिएको हो ।
चुनावमा नेताका छेउछाउमा कुद्नेहरुलाई मात्रै प्राथमिकता दिन लागिएको प्रस्तावित समानुपातिक सांसदहरुको गुनासो छ ।
डिजिटल डेमोक्रेसीको कुरा गर्ने पार्टी डिजिटलकै अवधारणा अनुसार चलोस् भन्नका लागि आफूहरूले दबाब दिएको नेता, कार्यकर्ताको भनाई छ ।
निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाएकाहरूलाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन भनिसकेको छ । रास्वपाले प्रत्यक्षतर्फ ७ सीट जितेको छ । त्यस्तै समानुपातिकमा १३ सीट पाएको छ ।