प्रचण्डले गठबन्धन छाडेर आए प्रधानमन्त्री स्वीकार्न एमाले तयार 

प्रचण्डले गठबन्धन छाडेर आए प्रधानमन्त्री स्वीकार्न एमाले तयार 

२०७९, पौष ७ बिहिवार

  • 1.2K
    SHARES

  • प्रचण्डले गठबन्धन छाडेर आए प्रधानमन्त्री स्वीकार्न एमाले तयार 

    काठमाडौँ । नेकपा एमालेले सत्ता गठबन्धन छाडेर आएको अवस्थामा माओवादी केन्द्रसँग सहकार्य हुनसक्ने सङ्केत गरेको छ ।

    प्रतिनिधिसभा सदस्यहरूको शपथकै दिन बिहीबार एमालेको सचिवालय बैठक बसेको थियो, जसमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए ।

    एक पदाधिकारीका अनुसार ओलीले सत्ता गठबन्धन कायम रहँदासम्म एमालेले कुनै विकल्पमा पहल लिन सक्ने अवस्था नभएको बताए । तर सबै पक्षसँग संवाद भइरहेको भन्दै उनले यसलाई थप गति दिनुपर्नेमा जोड दिएका छन् । ओलीले एमालेको तीन वटा चासो रहेको बताए ।

    ओलीले पहिलो राजनीतिक स्थायित्व, दोस्रो ओरालो लागेको अर्थतन्त्रलाई लयमा फर्काउने र तेस्रो राष्ट्रिय एकतालाई बलियो बनाउनेबारे चासो दिएको ती नेताको भनाई छ । 

    सांस्कृतिक विचलन देखिन थालेको भन्दै उनले बेलैमा नरोके मुलुक राजनीतिक अराजकतामा जानसक्ने बताएका छन् । यसका लागि पनि सबैसँग संवाद गर्नुपर्ने उनले बताए ।

    सरकार गठनका सन्दर्भमा सत्ता गठबन्धन कसरी अगाडि जान्छ भन्ने हेर्नुपर्ने ओलीले बताए । एमालेका एक पदाधिकारी भन्छन्, ‘अध्यक्षले काँग्रेस र माओवादी सबैसँग कुराकानी भइरहेको छ । प्रचण्डजीले गठबन्धन छोडेर आउनुभयो भने खुला संवाद गर्न सकिन्छ भन्नुभएको छ ।’

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्दै आएका छन् । तर प्रतिनिधिसभाकै ठूलो दल काँग्रेसले पनि नेतृत्व दाबी गरेको छ ।

    एमालेमा काँग्रेससँग मिलेर सरकार बनाउनुपर्ने मत पनि छ । तर बिहीबारको बैठकमा ओलीले भने गठबन्धन छाडेर आए प्रचण्डलाई प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने सङ्केत गरेको एक नेताले बताए ।

    २०७९, पौष ७ बिहिवार०८:३८:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार