स्याङ्जा । प्रतिनिधि सभा सांसद एवं नेपाली काँग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङले राष्ट्रिय समस्या समाधान गर्नका लागी वर्तमान प्रधानमन्त्रीलाई नेपाली काँग्रेसले विश्वासको मत दिएको बताउनुभएको छ ।
शुक्रबार आँधीखोला सञ्चार सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित रेडियो आँधीखोलाको १७औँ साधारण सभालाई सम्बोधन गर्नुहुँदै सांसद गुरुङले देशको वर्तमान परिस्थितिलाई हेरेर राष्ट्रिय समस्या समाधानको लागी विश्वासको मत दिएको उहाँले बताउनुभयो ।
वर्तमान देशको आर्थिक अवस्थालाई ध्यानमा राख्दै मुलुकलाई श्रीलंकामा जस्तो जनताले नेता लखेट्ने अवस्था नआओस भनेर सरकारलाई विश्वासको मत दिईएको उहाँले बताउनुभयो । आर्थिक सुशासन कायम नहुने हो भने जनताले दुख पाउने भन्दै आर्थिक सुशासन काँग्रेसले चाहेको बताउनुभयो ।
नेताहरुमा नैतिकता हराउँदै जाँदा काममा भन्दा पब्लिक स्र्टन्डमा लाग्दा नागरिकको समस्या समाधान नभएको उहाँको भनाई छ । जनताले निर्वाचित गरेर पठाएका मन्त्रिहरुको अर्जुनदृष्टि मात्रै काममा फोकस हुनुपर्ने भन्दै सस्तो लोकप्रियताका लागी नलाग्न उहाँको आग्रह छ ।
आर्थिक मन्दीको समाधान गर्दै देशको विकास र समृद्धिका लागी कुनै पार्टी नभनिकन एक हुनुपर्ने उहाँको भनाई छ । स्वदेशमै उत्पादिन वस्तुको उपयोग गरी बाहिर पैसा जाने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।