काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद जनार्दन शर्माले सत्ता गठबन्धनबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका छन्।
शनिबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले केही दिनपछि नै राष्ट्रपतिको एजेण्डाले स्थान पाउने र सत्तारुढ दलहरुसँग छलफल गरेपछि उम्मेदवारको टुंगो लाग्ने बताए।
उनले कांग्रेसले गरेको कुराको अपेक्षा आफूलाई जानकारी नरहेको भन्दै गठबन्धन सरकारमा बहुमत रहेकाले गठबन्धनकैतर्फबाट उम्मेदवार बन्ने निश्चित रहेको बताए। उनले सरकारमा भएका दलहरुले प्रस्ताव गरेकै व्यक्ति राष्ट्रपति बन्ने दाबी गरे।
उनले भने, ‘अब केही दिनपछि एजेण्डा राष्ट्रपतिमा प्रवेश गर्छ। पार्टीहरुमा छलफल हुन्छ। सहमति, असहमति, उम्मेदवारको छनोटको विषयमा छलफल हुन्छ। छलफलपछि मात्रै को हुन्छ भन्न सकिन्छ। गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने स्वतःस्फूर्त छ। कांग्रेसको अपेक्षाको कुरा मलाई थाहा छैन।’
उनले थपे, ‘सरकार र जुन गठबन्धन बनेको छ, त्यसको बीचमा एउटा छलफल, सहमति भएर प्रतिपक्षसहित पनि सहमति हुन्छ भने त्यो राम्रो हो। भएन भने गठबन्धन दलभित्र नै सहमति बन्छ। किनभने गठबन्धनमा अहिले बहुमत छ। निर्वाचित बहुमतले गर्ने हो। सरकारमा भएका दलहरुले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति हुनुहुन्छ।’