काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको कामलाई तीव्र गतिका साथ अघि बढाउन सरकारलाई आग्रह गरेका छन्।
भूराजनीतिक विषयका कारण सो परियोजनाको काम अघि बढाउने कुरामा समस्या देखिएको उल्लेख गर्दै उनले अब सरकारले त्यसलाई छिटोभन्दा छिटो अघि बढाउनुपर्ने बताए।
बिहीबार काठमाडौँमा आयोजित ‘चाइना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सो परियोजनालाई अघि बढाउन लागि सरकारले अब चीनसँग फण्डिङ मोडालिटीको बारेमा तत्काल छलफल गर्नुपर्ने आवश्यकतासमेत औंल्याए।
परियोजनाबाट लाभान्वित हुन नेपाल आफै अग्रसर हुनुपर्ने उनको भनाइ थियो। उपमहासचिव ज्ञवालीले चीनले बाह्य मुलुकसँग हस्तक्षेप नगर्ने कुरालाई स्पष्ट पार्दै आएको उल्लेख गर्दै त्यसप्रति नेपाल गम्भीर बन्नुपर्ने बताए। उनले नेपालले विकासमा फड्को मार्ने हो भने पनि सो परियोजनाको कामलाई छिटो अघि बढाउन उपयुक्त हुने धारणा राखे।
उनले भने, ‘बीआरआई अघि बढ्न नसक्नुमा भूराजनीतिक इस्यूहरुले पनि कहिलेकाहीँ काम गरेको मैले देखेको छु। त्यसो भएर बीआरआईबाट लाभान्वित हुन नेपाल आफैं अग्रसर हुनु पर्छ भन्ने मलाई लाग्दछ। हामीले जतिछिटो यी कनेक्टिभिटीमा हाम्रा प्रस्तावहरुलाई कार्यान्वयनमा ल्याउन सक्छौं, त्यति छिटो नेपाल त्यसबाट लाभान्वित हुन सक्छ। नेपाल सरकारले सो कामलाई छिटोभन्दा छिटो अगाडि बढाउनु पर्नेछ।’
कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदुत छन् सोङले नेपालको विकासमा बीआरआई परियोजना महत्वपूर्ण अवसर हुने बताए। उनले नेपालको पूर्वाधार विकासमा चीनले सहयोगका हातहरु थप अघि बढाउन चाहेको पनि उल्लेख गरे।