कैलाली । भारतीय सत्ताधारी दल विजेपीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवाले सुदूरपश्चिम पुगेका छन् । दिल्लीबाट सडक मार्ग भएर चौथाइवाले उत्तराखण्ड हुँदै सुदूरपश्चिम प्रदेश पुगेका हुन् ।
उनलाई सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाही, भौतिक योजना मन्त्री प्रकाश देउवा र आर्थिक मामिला मन्त्री श्री नरेश शाहीले स्वागत गरेका छन् ।
चैथाइवाले दुई दिनबाट कैलाली र कञ्चनपुरमा जारी नेपाल—भारत अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा सहभागी हुन आएका हुन् ।
सुदूरपश्चिम सरकारको सहयोग तथा सुदूरपश्चिम विश्वविद्यालय, भारत उत्तराखण्डको कुमाउँ विश्व विद्यालयले संयुक्त आयोजना गरेको तीन दिने कार्यक्रममा सहभागी हुन नेपालका लागि भारतीय राजदूत नवीन श्री वास्तव, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सांसद आरजू देउवाको समेत उपस्थिति हुने आयोजकले जनाएको छ।
यस्तै चौथाइवाले सोमबार काठमाडौं पुगेर उच्चस्तरीय भेटघाट गर्ने तयारी गरेका छन् ।
काठमाडौैंमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसँग भेटघाट गर्ने तय भएको बताइएको छ ।