काठमाडौँ । नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ परेका छन्। स्रोतका अनुसार बुधबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो।
पूर्वमन्त्री रायमाझी र उनका छोरा सन्दीपलाई बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो। तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि उनको बयानका आधारमा रायमाझीका बाबुछोरालाई पक्राउ पुजी जारी भएको हो।
प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो। तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि भएको छ । गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ।