काठमाडौं । दक्षिण एशियामै अत्यधिक गर्मी बढेपछि तिर्थाटन सहितको काठमाडौं भ्रमण सामान्य दिन भन्दा पचास प्रतिशत भन्दा अधिकले बढेको पाईएको छ । खासगरि दक्षिण भारत र बंगलादेशका हिन्दु धर्मावलम्बीहरु काठमाडौं भित्रिरहेका छन् ।
हिन्दुधर्मका आराध्यदेव देवता पशुपतिनाथको दर्शन सहित गर्मी छल्न भारतिय पर्यटक हवाई मार्गका साथै बस, जिपमा काठमाडौं आईरहेका छन् ।

दर्शन गर्नकै लागि लामो यात्रा गरेर पशुपतिनाथ आएका भक्तजनहरुलाई लक्षित गरि अघिल्लो महिना बैशाखबाटै रातीको ९ बजे सम्मै पूजाआजाको व्यवस्था मिलाईएको संस्कृति संरक्षण महाशाखा प्रमूख गौरीशंकर पराजुलीले बताए । गर्मी बढेसँगै विशेष पूजा गर्न आउने भक्तजनमा पनि उल्लेख्य बृद्धि भएको उनले बताएका छन् ।
विश्वका हिन्दुहरुको अन्तरराष्ट्रिय तिर्थस्थल र विश्व सम्पदा क्षेत्रका मूल्य, मान्यतालाई आत्मसाथ गर्दै भक्तजन र पर्यटकहरुलाई सोही किसिमले आदरभाव व्यक्त गरिएको पराजुलीको भनाई छ ।

यसरी विदेशी पर्यटक भित्रिरहँदा सरकारले विशेष कार्यक्रम ल्याएर पर्यटन प्रवर्द्धन गर्नुपर्ने कुरामा विज्ञहरुले जोड दएका छन् । त्यस्तै कति भक्तजन तथा पर्यटक विदेशी रहे सो पनि स्पष्ट लगत निकाल्न जरुरी बन्दै गएको सुझाव समेत संस्कृतिकर्मीहरुको रहेको छ ।


