पूर्वीद्वार काँकडभिट्टामा ११ तले दृश्यावलोकनस्तम्भ शिलान्यास

पूर्वीद्वार काँकडभिट्टामा ११ तले दृश्यावलोकनस्तम्भ शिलान्यास

२०७७, माघ २ शुक्रवार

  • 2.7K
    SHARES

  • पूर्वीद्वार काँकडभिट्टामा ११ तले दृश्यावलोकनस्तम्भ शिलान्यास

    माघ २, मेचीनगर ।

    नेपालको पूर्वीद्वार काँकडभिट्टामा पर्यटक आकर्षित गर्न ११ तलाको भ्यूटावर निर्माण शरु भएको छ । काँकडभिट्टामा पर्यटक आउनासाथ दृश्यावलोकनका लागि प्रदेश नं १ सरकार र मेचीनगर नगरपालिकाको साझेदारीमा भ्यूटावरको निर्माण थालिएको मेचीनगरका प्रमुख विमल आचार्यले बताए । 

    विहिवार प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, राधा थापा र गोपालचन्द्र बुढाथोकी, मेचीनगरका प्रमुख आचार्य, उपप्रमुख मीना उप्रेती, नेपाली कांग्रेसका नगर सभापति इन्द्र बुढाथोकी, नेकपाका नगर इञ्चार्ज देवकुमार राई, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ र राप्रपाका नगर अध्यक्ष सुशील आचार्यले भ्यूटावरको संयुक्तरुपमा शिलान्यास गरे ।

    मेचीनगर नगरपालिका वडा नं ६ को सबैभन्दा अग्लो स्थानमा रहेको शिवालय मन्दिर परिसरमा शिलान्यास भएको भ्यूटावरको कूल लागत रु चार करोड ५३ लाख ४७ हजार ३७० रहेको आयोजना प्रमुख इञ्जिनीयर कमलप्रसाद कोइरालाले जानकारी दिए । 

    कनकाई इन्टरनेशनल बिल्डर्स प्रालीले निर्माण कार्यको ठेक्का पाएको छ । आयोजना प्रमुख कोइरालाका अनुसार २०७८ मङ्सिर २८ गते काम सम्पन्न गरिसक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।

    निर्माणस्थल काँकडभिट्टाको नेपाल प्रवेशद्वारबाट २०० मिटरको दूरीभित्रै रहेको छ । काँकडभिट्टाकै सबैभन्दा अग्लो स्थान भएकाले त्यहाँ धेरै पहिलेदेखि नै आन्तरिक पर्यटक दृश्यावलोकनका लागि जाने गर्दथे ।

    नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाटा०को प्रदेश नं १ का अध्यक्ष उदयकुमार श्रेष्ठले यहाँ निर्माण हुने भ्यूटावरबाट तराईको मनोरम फाँट मात्र नभएर इलामको हरियाली डाँडाकाँडा र भारतको दार्जीलिङ, सिलिगुडी र सिक्किमसम्मको दृश्यावलोकन गर्न सकिने सम्भावना व्यक्त गरे ।

    “काँकडभिट्टा नेपाली पर्यटन क्षेत्रका लागि प्रमुख प्रवेशद्वार मध्येमा पर्दछ”, नाटाका अध्यक्ष श्रेष्ठ भन्छन्, “उनीहरुलाई घुमफिर गर्न र रमाउन मन लाग्दा भ्यूटावर महत्वपूर्ण ठाउँ बन्ने हाम्रो विश्वास छ ।” प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले पर्यटन क्षेत्र कोभिड– १९ का कारण सुस्ताएको भए तापनि सो क्षेत्रलाई ब्युँझाउन प्रदेश सरकारले विगतमा विनियोजन गरेको सबै बजेट पर्यटनमै खर्च गर्ने नीति लिएको बताए । 

    काँकडभिट्टामा पर्यटकीय आकर्षणका लागि विगतदेखि नै आफूले भ्यूटावरको वकालत गर्दै आएको र बल्ल सपना पूरा भएको प्रदेश सभा सदस्य राधा थापाले बताए ।

    मेचीनगर नगरपालिकाले भ्यूटावरलाई नगरको गौरवको आयोजनामा सूचीकृत गरेको हुँदा यसको निर्माणमा कुनै ढिलासुस्ती हुन नदिइने नगरकी उपप्रमुख मीना उप्रेतीले बताइन् । भ्यूटावर नमूनाकारुपमा सजाइने उनको भनाइ छ । 

    झापामा यसअघि बुद्ध शान्तिको धारागोलामा पाँचतले भ्यूटावर निर्माण भइसकेको छ भने दमकमा नेपालकै सबैभन्दा ठूलो भ्यूटावर निर्माणाधीन अवस्थामा रहेको छ ।

    मेचीनगर मुलुककै प्रवेश नाकामा रहेको शहर भएकाले यहाँ पर्यटकीय विकासका पूर्वाधारको निर्माणमा विगतदेखि नै जोड दिइँदै आएको छ ।

    हाल काँकडभिट्टामा पर्यटकका लागि देवकोटा पार्क, पुष्पलाल–बिपी बाटिका, पातालगङ्गालगायतका केही रमणीयस्थल छन् । दश किलोमिटर वरपर चाहिँ ठूला पर्यटकीयस्थल रहेका छन् ।

    बाहुनडाँगीमा मिनी माउन्टेन, बेंसीबजार र कृष्णथुम्की चर्चित पर्यटकीयस्थल हुन् भने बाँसबारी, कालिका, मागुरमाडी, खुट्टेडाँगी, निचाझोडी सिमसार क्षेत्रले वर्षेनी लाखौँ आन्तरिक पर्यटकलाई लोभ्याउँदै आएको छ ।

    भ्यूटावरको निर्माण पूर्वाधार विकासका दृष्टिले महत्वपूर्ण भए तापनि पर्यटक लोभ्याउन प्रवेश विन्दुको शहर काँकडभिट्टालाई सफा, स्वच्छ, हरियाली र पर्यटकमैत्री बनाउन जरुरी रहेको ट्राभल्स सङ्घ झापाका अध्यक्ष नेत्र कार्कीको धारणा छ ।

    पर्यटकलाई लक्षित गर्दै काँकडभिट्टाको पाँच किलोमिटर वरपर ठूला होटल र रेस्टुरेन्टको स्थापना भइरहेका छन् । काँकडभिट्टामै दुई वटा र धुलाबारीको जोरसिमलमा एउटा क्यासिनो सञ्चालित छ ।

    धुलाबारीको जोरसिमलमा होटल ‘मेची क्राउन’ नामक पाँच तारे सुविधा सम्पन्न होटल गत वर्षदेखि सञ्चालित छ ।

    अब पूर्वीद्वार काँकडभिट्टाबाट प्रवेश गर्ने विदेशी पर्यटकले खान बस्नका लागि अन्तरराष्ट्रियस्तरको होटल सुविधा पाउन थालेका छन् ।

    पर्यटकीय आकर्षणका लागि अर्को महत्वपूर्ण पूर्वाधार मानिएको हवाइसेवाको सुविधा चन्द्रगढी विमानस्थलले पूरा गर्दै आएको छ । हाल नियमितरुपमा चन्द्रगढी विमानस्थलबाट सात वटा उडान भइरहेका छन् ।

    २०७७, माघ २ शुक्रवार०६:०५:१३
    प्रतिक्रिया
    सम्बन्धित समाचार