झापा । धान उत्पादनका लागि प्रमुख मानिएको कोशी प्रदेशमा अहिलेसम्म गत सालकै हाराहारीमा रोपाइँ भएको प्रदेशको कृषि मन्त्रालयले जनाएको छ ।
कोशी प्रदेशमा अहिलेसम्म १६.९६ प्रतिशत रोपाइँ भएको प्रदेशको कृषि मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका कृषि प्रसार अधिकृत अभिमन्यु अधिकारीका अनुसार गत सालको भन्दा यो बर्ष एक प्रतिशतले कम रोपाइँ भएको हो ।
अधिकारीले भने, ‘धानको ब्याड राख्ने बेलामा बर्षा भएन । त्यसैको असर पनि हो । पछि त बर्षा भइरहेको छ । बर्षा त धान रोपाइँका लागि अनुकूल नै मान्नुपर्छ ।’
कोशी प्रदेशका झापा, मोरङ तथा सुनसरी धान रोपाइँका लागि मुख्य जिल्लाहरू मानिन्छन् । तीमध्ये पनि झापा जिल्ला नै धान सुपरजोन हो । धान सुपरजोनमा अहिलेसम्म करिब १८ प्रतिशत जमिनमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाको तथ्यांकले देखाएको छ ।
झापामा ८७ हजार ५ सय हेक्टर जमिनमा धान रोपिन्छ । अहिलेसम्म १५ हजार ७ सय ५० हेक्टर जमिनमा धान रोपिएको केन्द्रले जानकारी दिएको छ ।
यस पटक भने गत सालको जस्तो रासायनिक मलको अभावको मार किसानले खेप्नु नपरेको सरकारी अधिकारीहरूको दाबी छ ।