काठमाडौँ । जिम्बाबेमा जारी आइसिसी विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको नेपाल प्रतियोगितामा आफ्नो वरीयता सुधारका लागि आइतबार युएईसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाली समयअनुसार आज दिउँसो १२ :४५ मा सुरु हुने खेलमा नेपाल युएईविरुद्ध जितको दबदबा कायम राख्न चाहन्छ।
हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा हुने खेलको विजेता टोलीले सातौँ स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित हुने टोलीले नवौँ स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।
नेपाल अर्को टेस्ट अनुभव राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धाका लागि पनि युएईलाई हराउने दाउमा रहेको छ। युएईले अभ्यास खेलमा नेपाललाई ३ विकेटले पराजित गरेको थियो।
नेपालले जिम्बावे भ्रमणमा सर्ट बलको सामना गर्न नसक्दा उपलब्धीविहीन बन्यो।
प्रतिष्ठाका लागि मात्र रहेको युएई विरुद्धको आजको खेलमा नेपालले केही परिवर्तन गर्दै अन्य खेलाडीले अवसर प्राप्त गर्न सक्ने सम्भावना रहेको छ।
नेपाल र युएईबीच अहिलेसम्म कुल १४ खेल भएका छन्। जसमा नेपाल ८ मा विजयी र ६ खेलमा पराजित भएको छ। पछिल्ला पाँच खेलमा नेपाल ४ खेलमा विजयी भएको छ।