काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले घरेलु टोली मलेसियाविरुद्ध ब्याटिङ गर्दैछ ।
भरखरै टस जितेर ३५ ओभरको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
समूह ए मा दुवै खेल जितेर विजेता बनेको नेपालले सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
अर्कोतर्फ घरेलु टोली मलेसियाले सेमिफाइनलमा समूह बी को विजेता हङकङलाई ७८ रनले हराएर नेपालसँगको भेट पक्का गरेको हो । मलेसिया पनि समूह ए मा नै थियो ।
समूह चरणमा नेपालले मलेसियामाथि ८४ रनको फराकिलो जित निकालेको थियो ।
नेपाल अहिलेसम्म प्रतियोगितामा अपराजित छ भने मलेसिया नेपालसँग मात्र पराजित भएको थियो ।
नेपालको लक्ष्य जित यात्रालाई निरन्तरता दिँदै उपाधि उचाल्ने छ भने मलेसिया नेपालसँग हारको बदला लिन चाहन्छ ।
उमेर समूहको क्रिकेट नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
एसीसी यू-१६ इस्ट जोन मा पनि नेपालले उपाधि जित्दै ह्याट्रिक गर्ने लक्ष्य राखेको छ र त्यो लक्ष्य पूरा हुनबाट नेपाल एक कमदम मात्र टाढा छ ।
एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको थियो र नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो ।
त्यस्तै, जिम्बाबेमा भईरहेको विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलको सातौं स्थानका लागि नेपाली सिनियर टोलीले आजै आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दै छ । खेल १२ः१५ मा शुरु हुनेछ ।