काठमाडौँ । पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। शनिवार रातिदेखि बन्द भएको सडक आज बिहानदेखि सडकखण्ड सञ्चालनमा आएको हो।
चितवनको इच्छाकामना गाउँपालिका- ६ कालीखोलामा शनिबार अपराह्न ४ बजे सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो। तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो।
अहिले रोकिएका सवारीसाधन र यात्रु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए।
उनले इच्छाकामना गाउँपालिका- ५ स्थित तीन नम्बर पुलमा पहिरो खसेपछि सवारीसाधनलाई एकतर्फि गरिएको पनि बताए। उनले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न अनुरोध गरे।
यस सडकखण्डमा असार महिना लागेपछि पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। काठमाडौैंको लाईफ लाइनको रुपमा रहेको सडक पटक पटक बन्द हुँदा सर्वसाधारण तथा व्यवसायीलाई ठूलो मार्का परेको छ ।