काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा डा.नेत्र तिम्सिना पक्षधरले छुट्टै महाधिवेशन सम्पन्न गरेको छ । आज र भोलि निर्वाचन सहितको विशेष महाधिवेशन गर्ने भनिए पनि आज सोमवारै महाधिवेशन सम्पन्न भएको हो ।
काठमाडौंमा सम्पन्न महाधिवेशनले तिम्सिनाको नेतृत्वमा ३३ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचन गर्न रेडक्रसलाई निर्देशन दिएको निर्देशन बमोजिम नै निर्वाचन गरिएको तिम्सिना पक्षधरले बताएको छ । निर्वाचनको बिरुद्धमा सर्वोच्च अदालतमा परेको रिट विचाराधीन नै छ ।
डा. तिम्सिनाले तोकिएको समयमा निर्वाचन गर्न नसकेको भनि कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको पूर्व सरकारले सुदर्शन नेपाल अध्यक्ष रहेको तदर्थ समिति बनाएको थियो ।
तत्पश्चात देउवा सरकारले गरेको निर्णय बिरुद्ध तिम्सिना अदालत गएका थिए । अदालतले तिम्सिनाको पक्षमा अन्तरिम आदेश दिएको थियो ।
त्यसपछि पनि पुनः निर्वाचन गर्न नसकेको भनी दोस्रोपटक बर्खास्त परेका तिम्सिना अदालतको ढोका ढकढक्याउन पुगे । यसपटक पनि अदालतले अन्तरिम आदेश दिएको थियो ।
यद्यपि सरकारले नेपाल नेतृत्वको तदर्थ समितिलाई मान्यता दिएको थियो भने तिम्सिना पक्ष पनि रेडक्रशका काम कारवाहीमा सामेलहुँदा झनै विवाद चर्केको थियो ।
