काठमाडौँ । पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न नेकपा एमालेले असार ३० गतेका लागि सचिवालय बैठक डाकेको छ ।
ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
बैठकमा राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्याङ्कन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसङ्गठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुने बताइएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार नै पार्टीका उपाध्यक्षसँग पार्टी गतिविधिबारे छलफल गरेका छन्। अध्यक्ष ओलीले उपाध्यक्षहरुसँग पार्टीको गतिविधि र आगामी बस्ने सचिवालय बैठकको तयारीबारे छलफल गर्नुभएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए। छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुभासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल सहभागी थिए।