बुटवलका संस्थागत विद्यालयमा शुल्क वृद्धि नगर्न निर्देशन

बुटवलका संस्थागत विद्यालयमा शुल्क वृद्धि नगर्न निर्देशन

२०८०, श्रावण ४ बिहिवार

  • 777
    SHARES

  • बुटवलका संस्थागत विद्यालयमा शुल्क वृद्धि नगर्न निर्देशन

    लुम्बिनी । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संस्थागत विद्यालयलाई कुनै प्रकारका शुल्क वृद्धि नगर्न निर्देशन दिनुभएको छ ।

    उपमहानगरपालिकाको आयोजनामा आज नगरभित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकसँगको छलफलमा प्रमुख पाण्डेयले विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा सहर बनाउनका लागि संस्थागत विद्यालयले गुणस्तर र सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

    उहाँले कक्षा ११ को भर्ना सुरु हुनुअघि संस्थागत विद्यालयसँग आयोजित छलफलका क्रममा विद्यार्थीलाई पोशाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागू नगरी स्वेच्छिक हिसाबले खरिद गर्न दिनका लागि निर्देशन दिनुभयो ।

    “विद्यालय सुधार गर्नका लागि पहिले विद्यालयको प्रशासनिक कुरामा सुधार ल्याउनुस्”, उहाँले भन्नुभयो, “विद्यालयभित्रैबाट बाध्यकारी हुने अवस्था सिर्जना नगर्नुहोस् ।”

    उहाँले विद्यालयले गुणस्तर वृद्धि र प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताउँदै विद्यालयको क्षमता, भौतिक पूर्वाधार, ल्याब, शिक्षकको जनशक्तिलाई ध्यानमा राखेरमात्रै विद्यार्थी भर्ना गर्न आग्रह गर्नुभयो ।

    उहाँले संस्थागत विद्यालयले मनपरी शुल्क लिँदै आएको गुनासो आएको भन्दै मनपरी शुल्क लिनेलाई कानूनी दायरामा ल्याएर आवश्यक कारबाही अगाडि बढाउने बताउनुभयो ।

    कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले संस्थागत विद्यालयले गुणस्तरका साथै सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले बुटवललाई शिक्षामा अग्रणी बनाउनका लागि संस्थागत विद्यालयले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

    निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विद्यालयस्तरको शिक्षामा सुधारका लागि सबै विद्यालय एउटै नियम र पद्धतिमा चल्न आग्रह गर्नुभयो । कार्यक्रममा उपस्थित संस्थागत विद्यालयका प्रधानाध्यापकहरूले विद्यालय सुधारका लागि प्रतिबद्ध र विद्यालय शिक्षा सुधारमा नगरले थप लगानी गर्न आवश्यक रहेको सुझाव दिएका थिए ।

    २०८०, श्रावण ४ बिहिवार०७:३६:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार