काठमाडौँ । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको हो । ‘निर्यात नीतिअनुरुप गैरबासमती सेतो चामल स्वतन्त्र रुपमा निर्यात गर्न प्रतिबन्ध गरिएको छ’ महानिर्देशनालयको सूचनामा भनिएको छ ।
सो सूचना जारी हुनुअघि नै निर्यातका लागि लोड भइसकेको अवस्थाका हकमा भने सूचनाले बाधा नपुर्याउने उल्लेख गरिएको छ । भारतका प्रमुख धान उत्पादन क्षेत्रमा वर्षाको कमीपछि उत्पादन घट्ने प्रक्षेपणले भारतमा चामलको मूल्य बढ्न थालेसँगै सरकारले निर्यातमा प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतले चामल निर्यातमा प्रतिबन्ध गरेपछि खाद्य आपूर्ति शृंखलामा अवरोध हुन गई यसले नेपाल लगायत मुलुकमा समेत मूल्य बढ्ने अनुमान गरिएको छ । भारतको धान निर्यातकर्ता सङ्घ (आरईए)का अध्यक्ष बीभी कृष्ण रावले सरकारले धानको खरिद मूल्य बढाउने कदम चालेकाले मूल्य बढेको बताए ।‘सरकारले कल्याणकारी योजनाहरुको लागि आवश्यकभन्दा बढी मौज्दात राखेको छ, त्यसकारण निर्यातमा प्रतिबन्ध लगाउन जरुरत छैन’ उनले रोयटर्ससँग भनेका छन् ।