कार्यकर्तालाई लगाम लगाउँदै कांग्रेस, पार्टी हितविरुद्ध काम गरे सदस्यता नवीकरण नहुने

कार्यकर्तालाई लगाम लगाउँदै कांग्रेस, पार्टी हितविरुद्ध काम गरे सदस्यता नवीकरण नहुने

२०८०, श्रावण १७ बुधवार

  • 825
    SHARES

  • कार्यकर्तालाई लगाम लगाउँदै कांग्रेस, पार्टी हितविरुद्ध काम गरे सदस्यता नवीकरण नहुने

    चितवन । नेपाली काँग्रेस चितवन शाखाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने क्रियाशील सदस्यहरुको सदस्यता नवीकरण नगर्ने भएको छ ।

    उक्त शाखाले साठी प्रतिशत हाराहारी क्रियाशील सदस्यको मात्रै नवीकरण गर्ने तयारी गरेको हो ।

    चौथो महाधिवेशनमा उक्त शाखाले २८ हजार दुई सय जनाको क्रियाशील सदस्यता तय गरेको थियो । क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा चारवटा वडामा क्रियाशील सदस्यभन्दा कम मत पार्टीका उम्मेदवारले पाएकाले क्रियाशील सदस्य नवीकरणमा कडाइ गर्न लागिएको हो ।

    जिल्ला सभापति राजेश्वर खनालका अनुसार यही साउन ६ गतेदेखि सबै वडामा सदस्यता नवीकरण अभियान थालिएको छ । हालसम्म ५० प्रतिशत हाराहारीले नवीकरण गरेको तथ्याङ्क छ । केही समय थप गरेर नवीकरण टुङ्ग्याउने पार्टीको तयारी छ । यद्यपि पार्टीका उम्मेदवारलाई भोट नहाल्नेलाई कुनै हालतमा पनि नविकरण नगर्न वडाहरुलाई भनिएको छ ।

    जिल्ला समितिले स्वघोषणापत्रमा सदस्यताको अनिवार्य हस्ताक्षर हुने गरी फारम पठाएको छ । स्वघोषणापत्रमा भनिएको छ, “मैले नेपाली कांग्रेसको नीति, दृष्टिकोण, विचारअनुसार र नेपाली काँग्रेस केन्द्रीय समितिले गरेको निर्देशनलाई पालना नगरेको कहीँ कतैबाट प्रमाणित भएमा क्रियाशील सदस्यता रद्द गरे मेरो पूर्ण मञ्जुरी रहने छ ।” यसले पार्टी भित्रको थप अनुशासन कायम गर्ने उहाँको भनाइ थियो ।

    पार्टीको सदस्य भएर पनि विगतका निर्वाचनमा पार्टीप्रति सकारात्मक भूमिका निर्वाह नगर्नेहरु नवीकरण गर्न नआउनु भन्ने पार्टीको मान्यता रहेको सभापति खनालले बताउनुभयो । उपनिर्वाचनमा चितवन क्षेत्र नं २ अन्तर्गत भरतपुर महानगरपालिका वडा नं ४, ५, १० र कालिका नगरपालिकाको वडा नंं ६ मा क्रियाशील सदस्यभन्दा कम मत आएको थियो ।

    खनालका अनुसार आठ सय ३९ क्रियाशील सदस्य रहेको भरतपुर–१० मा ६ सय २१ मत मात्रै मत काँग्रेसका उम्मेदवारले पाएका थिए । उहाँले भन्नुभयो, “पार्टीका उम्मेदवारले पाएको मतभन्दा बढी क्रियाशील सदस्य नवीकरण हुँदैन ।”

    पार्टीमा नवीकरणमा क्रियाशील सदस्य घटाउने अभियानमा आफू रहेको भन्दै उहाँले पार्टीप्रति प्रतिबद्धहरुले नयाँ सदस्यता पाउने बताउनुभयो । नेपाली काँग्रेसलाई स्वच्छ र सुन्दर पार्टी निर्माणका लागि पार्टीको निर्देशन नमान्नेलाई सदस्य भन्न नसकिने सभापति खनालको भनाइ थियो ।

    २०८०, श्रावण १७ बुधवार०७:५०:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार