काठमाडौं । नासभिल एससीलाई सडन डेथमा पराजित गर्दै अर्जेन्टाईन खेलाडी लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कपको उपाधि जितेको छ ।
टाइ ब्रेकरमा नासभिलको ११ औं प्रहार गोल किपरले गरेका थिए । तर उक्त प्रहार मियामीका गोल किपरले रोकेपछि मियामीले पहिलो उपाधि जितेको हो ।
टाइ ब्रेकर सुरुका ५ प्रहारमा दुवै टोलीले ४-४ गोल गरेका थिए । नासभिलले मियामीको ५ औं प्रहार रोकेपछि खेल सडन डेथमा पुगेको थियो । त्यसपछि लगातार ५ प्रहारमा दुवै टोलीले गोल गरेपछि गोल किपरले पेनाल्टी हान्नुपर्ने अवस्था बनेको थियो ।
खेलमा सुरुआती अग्रता मियामीले मेस्सीको गोलमा २३ औं मिनेटमा लिएपनि दोस्रो हाफको ५७ औं मिनटमा नासभिलले बराबरी गोल फर्किएको थियो ।
तत्पश्चात निर्धारित गरिएको समयमा दुवैटोलीबाट गोल हुन नसकेपछि खेल सिधै टाईब्रेकरमा पुगेको थियो ।