भरतपुर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो हटाउने काम भइरहेको छ । सोमबार राति करिब ८ बजेतिर कालीखोलास्थित नाम्सी पुल नजिकै पहिरो गएको थियो । जसकारण सडक दुईतर्फ नै अवरुद्ध भएको छ। अब थप पहिरो दिउँसोको ३ बजेभित्र उक्त सडक खुल्ला हुने भएको छ ।
गए राती १० बजेदेखि पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको थियो । प्रहरीको लोडरको ब्रेक फेल भएकोले अहिले २ वटा लोडर र १ वटा स्काभेटरको प्रयोग गरी पहिरो पन्छाउने कार्य भइरहेको छ । जसकारण पहिरो पन्छाएर सडक सुचारू गर्न एक घण्टा लाग्ने प्रहरीले जनाएको छ । रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि बिहानसम्म २५ देखि ३० प्रतिशत मात्र पन्छाउन सफल भएको थियो ।
सडक अवरूद्ध हुँदा सवारीसाधन तथा यात्रुहरूले शास्ती भोगिरहेका छन् । यात्रुहरू रातभर बाटोमै सडकमा अलपत्र परेका रोकिएका छन् । यसैगरी, पहिरो पन्छाउन समय लाग्ने भएकाले यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनले अनुरोध गरेको थियो ।
यतिबेला काठमाडौँबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ । यस्तै, पश्चिम र पूर्वबाट आएका सवारीसाधन भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैंडाकोटमा रोकिएका छन् ।