काठमाडौं । एसियाकपका लागि बुधबार विहान पाकिस्तान प्रस्तान गर्न लागेको नेपाली टिमलाई नेपाल क्रिकेट संघ क्यानले औपचारिक बिदाइ गरेको छ। बिदाइ कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एसिया कपमा भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट क्रिकेट खेल्ने लक्ष्य लिएको बताए।
रोहितले नतिजा आफ्नो हातमा नरहेपनि जितका लागिनै शतप्रतिशत प्रयास गर्ने बताए। साथै उनले भारत-पाकिस्तानसँग खेल्ने नेपालको वर्षौं देखीको सपना पुरा हुन लागेकोमा खुसी ब्यक्त गरे। उनले भने ‘हामीले धेरै लामो समयदेखि भारत(पाकिस्तानसँग खेल्ने सपना पुरा गर्दै छौं। यसका लागि सबैजना तयार छौं।’ उनले अगाडी ‘रिजल्ट हाम्रो कन्ट्रोलमा छैन, तर प्रोसेस कन्ट्रोलमा छ।’
पौडेलले विश्वकप क्वालिफायरमा वेस्ट इन्डिज र जिम्बाबेसँग खेलेको अनुभव एसिया कपमा काम लाग्ने विश्वास लिए। उनले भने ‘विश्वकप छनोट र इमर्जिङ कपको खेलबाट हामीले धेरै कुरा सिकेका छौं। खेलाडीहरुले आआफ्नो कमजोरीमा सुधार गरेका छन्। हामी त्यो दिन कसरी राम्रो प्रदर्शन दिन सक्छौं भनेर केन्द्रीत हुने छौं।’ उनले सर्टबलमा यसअघि देखिएको कमजोरीलाई सुधार गर्ने प्रयास गरेको बताए।
त्यस्तै प्रशिक्षक मोन्टी देसाइले विश्वस्तरीय ब्याटरहरु समेत सर्ट बलमा समालिन मुस्किल हुने गरेको भन्दै यसलाई समस्या मान्न नहुने बताए। उनले हरेक खेलबाट सिकेरनै नतिजा राम्रो आउने भन्दै फुल म्याम्बरलाई जित्नका लागि सोहि अनुसारको अनुभव र तयारीहरु आवश्यक हुने बताए।
उनले भने ‘फुल म्यामबर (टेस्ट राष्ट्र) हरुको ठूलो इतिहास छ। हामीकहाँ धेरै समस्याहरु छन्। खेलाडीहरु लाइटबिनानै इन्डोर प्राक्टिस गरेका छन्। सिमित स्रोत साधनमा धेरै गर्नु पर्ने छ। त्यसैले नतिजा भन्दा पनि हामी जतिसक्दो राम्रो गर्ने प्रयास एसियाकपमा गर्ने छौं।’