अन्ततस् इन्टर मियामीले एमएलएसमा लगातारको निरासाजनक प्रदर्शनको अन्त गरेको छ। विगत १०५ दिन अर्थात् १५ सातायता लिगमा जितविहीन रहेको मियामीले आइतबार बिहान पहिलो जित निकाल्यो।
स्टार स्ट्राइकर लियोनल मेसीलाई हेर्न मैदान पुगेका दर्शकहरू अधिकांस समय मैदानमा उनको प्रतीक्षामा बसेका थिए। अन्तत : उनीहरूको चाहना पूरा गर्दै सब्सटिच्युट खेलाडीका रूपमा ६० औं मिनेटमा मैदान छिरेका मेसीले आफ्नो जादु कायम राख्दा मियामीको पछिल्लो ९ खेलको अपराजित यात्रा कायम रह्यो।
मेसीले ३० मिनेट मैदानमा बिताए पनि दर्शकको चाहनाअनुसारको उत्कृष्ट प्रदर्शन मात्र गरेनन्। उनले एमएलएसमा डेब्युमा नै पहिलो गोल गर्दा इन्टर मियामीले न्युयोर्क रेड बुल्सलाई २-० ले पराजित गर्यो।
मियामीले खेलमा ३७ औं मिनेटमा डिएगो गोमेजको गोलमार्फत् अग्रता बनाएको थियो। मेसीको प्रवेशसँगै मियामीले सहज जित हासिल गर्यो।
रेडबुल एरेनामा २६ हजार २ सय ७६ दर्शकमाझ मेसीको लोकप्रियता उत्कर्षमा रहेको थियो। उनले ८९औं मिनेटमा गोल गर्दै टिमलाई २-० को सहज जित दिलाए।
जितसँगै मियामी लिगको पुछारबाट दोस्रो स्थानमा उक्लिएको छ। मेसीको भने यो मियामीका लागि लगातार नवौं जितसमेत हो। अब सिजनका ९ खेलहरू बाँकी रहँदा प्लेअफमा पुग्ने आशा मियामीको रहेको छ।
एमएलएसमा पछिल्लो पटक इन्टर मियामीले १४ मे मा न्यु इंग्ल्यान्डविरुद्ध जित निकालेको थियो। तर प्लेअफ सम्भावना सहज भने छैन। यद्यपि विश्व उत्कृष्ट खेलाडीको आगमनले उत्साही रहेको मियामी आफ्नो अभियान सार्थक बनाउन लागि रहेको छ। -एजेन्सी ।