काठमाडौं । सभामुख देवराज घिमिरे आयरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किनुभएको छ ।
आइतबार घिमिरे आयरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किनुभएको हो ।
भाद्र ३१ गते एकहप्ते भ्रमणमा निस्कनुभएका घिमिरे आज स्वदेश फर्किनुभएको हो । आयरल्याण्ड भ्रमणका क्रममा आइरिस सदनको माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमर र आयरल्याण्डका राष्ट्रपति महामहिम माइकल डी. हिगिन्ससँग शिष्टाचार भेट भएको घिमिरेले बताउनुभयो ।
त्यस्तै, आयरल्याण्डका तल्लो सदन डोलय एरियनका सभामुख सान ओ फारगेल, आइरिस सरकारका आवास, स्थानीय सरकार तथा सम्पदा मन्त्री दर्राघ ओ ब्रायन, आइरिस सरकारका शिक्षा मामिला हेर्ने राज्यमन्त्री नियाल कोलिन्ससँग पनि शिष्टाचार भेट गरेको उहाँको भनाई छ ।
भ्रमणमा नेपाली विद्यार्थीका लागि सहज भिसा तथा छात्रवृत्तिको व्यवस्था, क्यान्सर लगायतका रोगको निदानका लागि आवश्यक उपचार पद्धति, प्रविधि लगायतको सहयोगबारे, एक अर्का देशका नागरिकको भ्रमण, नेपालको हिमाल र सगरमाथा हर्ने र आरोहणको लागि प्रोत्साहनबारे समेत छलफल भएको घिमिरेले बताउनुभयो ।
सभामुखको भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्यप्रसाद पाण्डेय, सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई रहनुभएको थियो भने आयरल्याण्डमा नेपाली राजदूतावास, लण्डनका द्धितीय सचिव रामबाबु नेपाल प्रतिनिधि मण्डलमा सहभागी रहनुभएको थियो ।