काठमाडौं । काठमाडौँ उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाईँदैछ। वर्षा र सहकालका देवता देवराज इन्द्रको परम्परागतरुपमा पूजा–आरधना गरी यस पर्व मनाउने गरिन्छ।
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुरका साथै दोलखा र धुलिखेलमा समेत मनाउने गरिन्छ। इन्द्रजात्राभन्दा दुई दिन अघि अर्थात भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि यो जात्रा प्रारम्भ हुने गर्दछ। आठ दिनसम्म मनाइने यो जात्रामा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गर्ने चलन रहेको छ।
इन्द्रजात्राको अवसरमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा छ।
इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको यस जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।
यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन सोमबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ ।