भुर्तेल चम्किएपछि नेपालको सहज जित 

भुर्तेल चम्किएपछि नेपालको सहज जित 

२०८०, कार्तिक १३ सोमवार

  • 997
    SHARES

  • भुर्तेल चम्किएपछि नेपालको सहज जित 

    काठमाडौं । ओपनर कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।

    सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरले प्रस्तुत गरेको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

    नेपालको जितमा ओपनर भुर्तेलले ४८ बलमा आठ चौका र दुई छक्कासहित ७४ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो सातौँ अर्धशतक हो ।

    भुर्तेलले पहिलो विकेटका निम्ति आसिफ सेखसँग ९.१ ओभरमा ८४ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । आसिफ २७ रन बनाएर पभेलियन फर्किए ।

    अविजित रहेका कप्तान रोहितकुमार पौडेलले ३५ र कुशल मल्लले ६ रन थपे । दोस्रो विकेटका निम्ति भुर्तेल र रोहितले ५७ रनको साझेदारी गर्दै नेपाललाई जितनजिक पुर्‍याएका थिए ।

    सिंगापुरका अक्षय पुरी र अनन्था कृष्णाले एक-एक विकेट लिए ।

    यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

    सिंगापुरका ओपनर रोहन रंगराजनले ४६ रन बनाए । उनले ३० बलमा नौ चौका र एक छक्का प्रहार गरे ।

    सिंगापुरले स्कोरबोर्डमा खाता नखोल्दै पहिलो विकेट गुमाएको थियो । तर, त्यसपछि दोस्रो विकेटका निम्ति रंगराजने सुरेन्द्रन चन्द्रमोहनसँग ५२ रनको साझेदारी गर्दै सिंगापुरको इनिङ्स सम्हालेका थिए । चन्द्रमोहन ६ रनमा पभेलियन फर्किए ।

    आर्यावीर चौधरीले ३७ रन थपे । मनप्रित सिंहले २४ र अक्षय पुरीले १३ रन बनाए । सिंगापुरका अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सिंगापुरका तीन ब्याटर ‘डक’ भएका थिए ।

    नेपालका अभिनाश बोहराले तीन विकेट लिए । सन्दीप लामिछाने, गुल्सन झा र करण केसी समान दुई विकेट लिए ।

    आजदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

    नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले अब कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

    समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

    यो छनोटबाट फाइनलमा पुग्ने दुई टिम आउँदो वर्ष उत्तर अमेरिकामा हुने विश्वकपमा छनोट हुनेछन् । 

    त्यस्तै समूह 'बी' को खेलमा बहराईनलाई १८.२ ओभरमा ५ विकेटले हराउँदै यूएईले विजयी शुरुवात गरेको छ । 

    २०८०, कार्तिक १३ सोमवार१२:२९:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार