विश्वकप छनोट : नेपाल आज यमनसँग खेल्दै, दर्शकलाई बसको व्यवस्था

विश्वकप छनोट : नेपाल आज यमनसँग खेल्दै, दर्शकलाई बसको व्यवस्था

२०८०, मंसिर ५ मंगलवार

  • 1.0K
    SHARES

  • विश्वकप छनोट : नेपाल आज यमनसँग खेल्दै, दर्शकलाई बसको व्यवस्था

    काठमाडौँ । फिफा विश्वकप छनोट खेलमा नेपालले आज यमनसँग खेल्दै छ । दोस्रो चरणको छनोटमा नेपालले घरेलु मैदानमा पहिलो खेल खेल्न लागेको हो।

    समूह ‘एच’ मा रहेका नेपाल र यमनबीचको खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ७ बजे शुरु हुनेछ । नेपालले घरेलु मैदानमा आज दोस्रो चरणको दोस्रो खेल खेल्न लागेको हो ।

    फिफा वरीयतामा यमन १ सय ५६ औँ र नेपाल १ सय ७३ औँ स्थानमा छ । यसअघि गएको बिहीवार दुबईमा भएको पहिलो खेलमा समूहकै सबैभन्दा बलियो टोली यूएईसँग नेपाल ४-० गोलले पराजित भएको थियो।

    यमन पनि पहिलो खेलमा घरेलु मैदानमा बहराइनसँग २-० गोलले पराजित भएको थियो । खेलअघि हिजो भएको पत्रकार सम्मेलनमा नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यमनसँगको खेलका लागि टोली तयार रहेको र जितकै लागि खेल्ने बताएका छन् ।

    कप्तान किरणकुमार लिम्बुले यूएईसँगको हारलाई बिर्सेर अघि बढ्नुपर्ने र त्यसैअनुसार यमनसँग खेलका लागि उत्साहित रहेको बताए । उनले घरेलु मैदानमा समर्थकको उत्तिकै साथ रहने पनि बताए । नेपाल र यमनबीच आज हुने खेलका लागि साधारण प्यारापिटतर्फ ४ सय र भीआईपी प्यारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर कायम गरिएको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।

    नेपाल र यमनले अहिलेसम्म चार खेल खेलेका छन् । तर नेपालले यमनलाई हराउन सकेको छैन । सन् २०१७ मा नेपालमै भएको एएफसी कप छनोटको खेलमा यमनलाई गोलरहित बराबरीमा रोक्नु नै नेपालको उपलब्धि हो ।

    एसियन कप छनोट अन्तर्गत नै २०१८ मा दोहामा भएको खेलमा नेपाल यमनसँग २-१ गोलले पराजित भएको थियो । त्यसअघि सन् २००० मा भएको एसियन कप छनोटको खेलमा नेपाल यमनसँग ३-० गोलले र सन् २०१४ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल यमनसँग २-० गोलले पराजित भएको थियो ।

    नेपाल छनोटको पहिलो चरणमा लाओसलाई हराएर दोस्रो चरणमा पुगेको हो । दोस्रो चरणको समूह एचमा नेपालसहित यूएई, बहराइन र यमन रहेका छन् ।

    आजको खेल रातको ९ बजेसम्म संचालन हुने भएकाले दर्शकका लागि घर पुग्न बसको व्यवस्था गरिएको एन्फाले जनाएको छ । खेल पश्चात टिकट देखाएर दर्शकले निःशुल्क रुपमा बसको उपभोग गर्न पाउने छन् ।   

    २०८०, मंसिर ५ मंगलवार०७:३१:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार