काठमाडौं । पवित्र तिर्थस्थल बुढानीलकण्ठ मन्दिरमा मंसिर ७ देखि ११ गतेसम्म विशेष हरिबोधनी एकादशी (तुलसी विवाह) मेला हुने भएको छ ।
बुढानीलकण्ठ नगरपालिकाले आज पत्रकार सम्मेलनमार्फत मेलाको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
मेला व्यवस्थापन गर्न मेयर मिठाराम अधिकारीको संयोजकत्वमा १ हजार एक सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । उपमेयर अनिता लामाको संयोजकत्वमा अनुगमन तथा अतिथि सत्कार उपसमितिसँगै १३ वटा विषयगत उपसमिति गठन गरिएको नगरपालिकाले जनाएको छ ।
मेला अवधिभर सार्वजनिक यातायात मन्दिरको मूल गेट (बसपार्क)बाटै फर्किने व्यवस्था गरिएको छ । रिजर्भ गरिएको साना तथा ठूला यातायातका साधन तथा निजी सवारीहरुलाई विष्णुमतीतर्फ पठाउने व्यवस्था गरिएको छ ।

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी वा तुलसी विवाहको नामले समेत प्रसिद्ध यस दिन विशेष गरी विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाहको उत्सव मनाइन्छ । सनातन धर्मअनुसार आषाढ शुक्ल एकादशीदेखि सुतेर भगवान विष्णु चार महिनापछि आफ्नो निन्द्राबाट यही पवित्र दिनमा उठेको मानिन्छ ।
परापूर्वकालदेखि नै निरन्तर रुपमा प्रत्येक वर्ष बुढानीलकण्ठ मन्दिरमा एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष पूजा, प्रार्थना र दर्शनका लागि देशभरबाट लाखौं भक्तजन आउने गर्छन् ।
यस विशेष पर्वको अवसरमा नगरपालिकाले विहिवार हरिबोधनी एकादशीको दिन नगरस्तरिय स्थानीय बिदासमेत घोषणा गरेको छ ।