काठमाडौँ । जिल्लाको पुर्वउत्तर कुनामा रहेको ऐतिहासिक नगरी शंखरापुर नगरपालिका र मनास्लु वर्ल्ड कलेजबिच विभिन्न शैक्षिक कार्यक्रमहरु संचालनार्थ एक सम्झौता भएको छ । अघिल्लो हप्ता नगरपालिकामा एक कार्यक्रम गरी सम्झौता पत्र हस्ताक्षर तथा आदान प्रदान सम्पन्न गरियो ।
कार्यक्रममा शंखरापुर नगरपालिका नगर प्रमुख रमेश नापित, प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनाल, नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सुकदेव नेपाल लगायत विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । शंखरापुर नगरपालिकाको तर्फबाट नगर प्रमुख रमेश नापित र मनास्लु वर्ड कलेजको तर्फबाट कलेजका अध्यक्ष गेन्द्र लामाले संयुक्त रुपमा हस्ताक्षर गरी कार्यक्रम सम्पन्न भएको हो ।
सम्झौता पत्र अनुसार मनास्लु वर्ल्ड कलेजले यस नगरपालिकाका एसईई उत्तीर्ण जेहेन्दार तथा आर्थिक रुपमा विपन्न विद्यार्थीहरुलाई यस नगरपालिकाको विशेष सिफारिसमा वार्षिक १० जना सम्मलाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिनुका साथै स्नातक तहका लागि पनि छात्रवृत्ति प्रदान गरिने छ ।
विभिन्न तहका सरकारसँगको सहकार्यमा मनास्लुको शैक्षिक अभियानलाई थप फराकिलो बनाईने कलेजका अध्यक्ष लामाले बताएका छन् ।