परितोष पौड्याललाई १७७ मतान्तरले पराजित गर्दै नेफ्स्कुन अध्यक्षमा चन्द्र ढकाल विजयी

परितोष पौड्याललाई १७७ मतान्तरले पराजित गर्दै नेफ्स्कुन अध्यक्षमा चन्द्र ढकाल विजयी

२०८०, पौष ९ सोमवार

  • 1.0K
    SHARES

  • परितोष पौड्याललाई १७७ मतान्तरले पराजित गर्दै नेफ्स्कुन अध्यक्षमा चन्द्र ढकाल विजयी

    काठमाडौं । देशभरका बचत तथा ऋण सहकारीको छाता संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) अध्यक्षमा चन्द्र प्रसाद ढकाल विजयी भएका छन् । आईतवार मध्यरात सम्पन्न मतपरिणाम अनुसार अध्यक्ष ढकालले ११९६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्धन्दी निवर्तमान अध्यक्ष परितोष पौड्यालले १०१९ मत प्राप्त गरे । अध्यक्ष निर्वाचित ढकाल अघिल्लो कार्यकालमा बरिष्ठ उपाध्यक्ष थिए । 

    संघको ३२औं वार्षिक साधारण सभा अन्तर्गत आइतवार सम्पन्न मतदानको अन्तिम परिणाम अनुसार ढकालको नेतृत्वमा ४ वर्षका लागि सञ्चालक समिति निर्वाचित भएको हो ।
     
    त्यसैगरी, बरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी निर्वाचित भएका छन् । उनले १२३१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्दी देवकी नेपालले ९८४ मत प्राप्त गरिन् । अधिकारी अघिल्लो कार्यकालमा महासचिव थिए । यसैगरी, उपाध्यक्ष (महिला) मा ११३४ मत सहित शान्ति अधिकारी निर्वाचित भइन् भने उनका निकटतम प्रतिद्धन्दी गोमा नेपालले १०८४ मत प्राप्त गरिन् । अधिकारी अघिल्लो कार्यकालमा पनि उपाध्यक्ष नै थिइन् । 

    त्यस्तै महासचिवमा ८७६ मतसहित घनश्याम अधिकारी विजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी सन्दिप सापकोटाले ८०१ मत प्राप्त गरे । अधिकारी  अघिल्लो कार्यकालमा सञ्चालक सदस्य थिए । 

    त्यस्तै, कोषाध्यक्षमा दिपक थापा निर्वाचित भएका छन् । थापाले १११३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी जिवसराज खड्काले १०९९ मत प्राप्त गरे ।

    यसैगरी, सञ्चालक (महिला) मा १५२७ मतसहित सिता ढकाल पौडेल, १२०३ मतसहित मन्दरा मिश्र, र कमलादेवी गिरी १२०४ मतसहित विजयी भएका छन् ।

    प्रदेशस्तरीय सञ्चालकहरुमा कोशी प्रदेशबाट १२१२ मतसहित लक्ष्मी सापकोटा, मधेश प्रदेशबाट १३२० मतसहित शोभा कुमारी राउत, बागमती प्रदेशबाट १२२६ मतसहित खेमराज सुवेदी, गण्डकी प्रदेशबाट ११८८ मतसहित गोपाल प्रसाद गौतम, लुम्बिनी प्रदेशबाट १३२३ मतसहित ज्ञानु पौड्याल, कर्णाली प्रदेशबाट ९४२ मतसहित विर बहादुर रावत भोटे तथा सुदूर पश्चिम प्रदेशबाट १२२६ मतसहित दिप्ती शाही निर्वाचित भएका छन् ।

    यसैगरी, सञ्चालक (खुला) पदमा ९९६ मतसहित सुशिल कुमार बस्न्यात, नवराज अर्याल १०८३, देव कुमार श्रेष्ठ ९६५ तथा ९४५ मतसहित शालिकराम ढकाल विजयी भएका छन् । 

    त्यस्तै, लेखा सुपरिवेक्षण समिति संयोजकमा इन्द्रराज ज्योति पौडेल ११५४ मत सहित विजयी भएका छन् । समितिका बाँकी दुई सदस्यहरुमा १३४९ मतसहित हेमराज बिष्ट तथा १२५५ मत सहित दुर्गा तिवारी सञ्जेल विजयी भए ।

    यो साधारण सभाले अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सात प्रदेशबाट १-१ जना, महिला ३ र खुला ४ गरी १९ सदस्यीय सञ्चालक समिति र संयोजक १ जना सहित ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको हो ।

    गठबन्धन एकतिहाइमा सिमित

    यससँगै अध्यक्ष, कोषाध्यक्ष, लेखा सुपरिवेक्षण समिति संयोजक सहित ३ सदस्य गठबन्धनका उमेद्वारले जितेका छन् भने बाँकी सबै पदमा नेकपा एमाले समर्थित उमेद्वारले जितेका छन् । 

    अपरान्ह २ बजे बजेदेखि सुरु भएको मतदान बेलुकी ८ बजे सम्पन्न भएको थियो भने अन्तिम मत परिणाम राती ११ः४५ बजे सम्पन्न भई मध्यरातमा घोषणा गरियो । मतदानमा कुल २२४९ मत खसेको थियो । 

    २०८०, पौष ९ सोमवार०६:३८:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार