काठमाडौं । २०२२ साल माघ १० गते ढड्डा प्रणालीबाट सुरु गरेको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ्ग कारोबारमा हाल प्रविधिमा आधारित डिजिटल कारोबारमा उल्लेख्य प्रगति भएको छ ।
नेपालका वाणिज्य बैंकहरु मध्ये सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सबैभन्दा बढी डिजिल कारोबार (विद्युतीय कारोबार) गर्न सफल भएको छ । यसैसन्दर्भमा नेपालको भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई नेपालका बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा आईतबार साँझ सम्मानीत गरेको छ ।
एक विशेष कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई अवार्ड प्रदान गर्नुभएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले प्रविधिमा पर्याप्त लगानी गरेकाले यो उपलब्धि हासिल गर्न सफल भएको बताउनुहुँदै अब राष्ट्रिय वाणिज्य बैंक परम्परागत प्रणालीबाट डिजिटलाइजेशन तर्फ गएको बताउनुभयो ।
बैंकले अन्तरराष्ट्रिय स्तरको उन्नत बैंकिङ्ग प्रविधिमा आधारित कोर बैंकिंग सफ्टवयर भित्र्याउन आईटी ईन्हान्समेन्ट रोडम्याप अन्तर्गत कार्य समेत गरिरहेको उहाँले बताउनुभयो । उहाँले बैंकले आधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रवाह गरिरहेकाले सबै ग्राहकहरुलाई निर्धक्कसँग बैंकिङ्ग सेवा प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।
साथै उहाँले बैंकको उपरोक्त प्रगतिकालागि सम्पूर्ण ग्राहकहरु, शेयरधनी, नेपाल सरकार, राष्ट्र बैंंक, कार्यरत कर्मचारी लगायत समग्र सरोकारवालाहरु प्रति बैंकको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गनुभयो ।
बैंकका हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८५ शाखा कार्यालय, २६९ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ६९ वटा एक्स्टेन्सन काउण्टर, क्युआर कोड सेवा, पोज (पोईन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपिएस, स्मार्ट क्युआर टेलर(बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ्ग, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने युएसएसडी मोवाईल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन ।